काठमाडौं, २ मङ्सिर । मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि ४१ जिल्लाको ८० मतदान केन्द्रमा महिला कर्मचारीहरुबाट मतदान कार्य सञ्चालन हुने भएको छ ।
मतदानको दिन आउन करिब ५६ घण्टा बााकी रहदा निर्वाचन आयोगद्वारा शनिवार आयोजित विशेष पत्रकार सम्मेलनमा प्रत्येक जिल्लामा कम्तिमा एक मतदान केन्द्र सञ्चालनको नेतृत्व महिला मतदान अधिकृतले गर्ने व्यवस्था मिलाइएको छ । यस्तो व्यवस्थाले महिला कर्मचारीको व्यवस्थापकीय क्षमता प्रमाणित गर्ने भएकाले आयोगले मतदान केन्द्रमा उपलब्ध भएसम्म ५० प्रतिशत महिला कर्मचारी खटाउने नीति लिएको उल्लेख गरिएको छ ।
निजामती र शिक्षा सेवामा महिलाको सङ्ख्या कमी भएका कारण निर्वाचनका सबै काममा आयोगले चाहेर पनि पुरुष बराबरीको सङ्ख्यामा महिलाहरु खटाउन नपाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा मतदान केन्द्र महिलामैत्री बनाउन महिलाका लागि अलग्गै व्यवस्था, महिलाको लाइन व्यवस्थापनमा सघाउन महिला स्वयम्सेवकको व्यवस्था, मतदान गरिसकेपछि नङमा मसी लगाउने काममा महिलालाई मात्र जिम्मेवारी दिने निर्णय आयोगले गरेको छ ।
आगामी निर्वाचनमा १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ मतदान केन्द्र रहेका छन् ।समानुपातिक निर्वाचन प्रणालीतर्फका १० हजार ७०९ उम्मेदवारमध्ये पााच हजार २९१ महिला, तीमध्ये एक हजार ७५२ मधेसी, ५०८ दलित, एक हजार ६९९ जनजाति, एक हजार ८१९ खस आर्य समुदायका र ७२ जना पिछडिएका समुदायको रहेका छन् ।
यसैगरी पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ छ हजार १२८ मध्ये ६६७ जना महिला उम्मेदवार भएको र दुवै प्रणालीमा कुल उम्मेदवारमध्ये ३५ दशमलव ३९ महिला रहेको, कुल मतदाता एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये २१ लाख ६६ हजार ८२९ जना महिला रहेको पनि सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया