भक्तपुर, १ मंसिर । तरकारी उत्पादनमा अग्रणी स्थानमा रहेको भक्तपुरमा कात्तिक महिनामै तरकारी अभाव भएको छ ।
हरियो तरकारीखेती घट्दै जाँदा तरकारीको उत्पादन कम हुँदा भक्तपुरमा यतिखेर तरकारीको अभाव भएको छ । तरकारीखेती गर्न महँगो हुँदै गएपछि पछिल्लो समयमा भक्तपुरमा व्यावसायिक रुपमा हुँदै आएको तरकारीखेती घट्दै गएपछि यस वर्ष तरकारी उत्पादन घटेको कृषकले बताएका छन् । बजारमा हरियो तरकारीको माग उच्च रहेको र मूल्यसमेत बढेको भए पनि उत्पादन भने कम भएपछि भक्तपुरबाट दैनिक काठमाडौलगायत बाहिरी जिल्लामा निकासी हँुदै आएको तरकारीसमेत निकासी कम भएको छ ।
मध्यपुरथिमि नगदेशका कृषक रामकृष्ण श्रेष्ठले विगतको तुलनामा यस वर्ष तरकारीखेती कम हुँदा तरकारीको अभाव भएको बताए । यहाँबाट बाहिरी जिल्लामा समेत तरकारी खपत हुँदै आएकाले निर्यात गर्न नसकेको र उपत्यकामै उच्च मागअनुसार आपूर्ति गर्न नसकिएको बताए ।
नगदेश, बोडेलगायत थिमि क्षेत्रमा मात्रै करिब तीन हजार रोपनीमा हरियो तरकारीखेती हुँदै आएपनि जग्गा प्लानिङ, तरकारीको बीऊ, मल, औषधि, ज्याला महागो हँुदै गएकाले तरकारीखेती गर्ने कृषकसमेत यो व्यवसाय छाड्न थालेकाले उत्पादन नै कम भएको हो ।
बोडेका कृषक आशालाल प्रजापतिले तरकारी यस वर्ष महँगो भए पनि विगतका वर्षमा सस्तोमा तरकारी बिक्री गर्नुपर्ने हँुदा फाइदा नहुने भएपछि धेरै किसानले तरकारीखेती नै छाडेको बताए । यस वर्ष बजारमा तरकारी महँगो भएपनि तरकारी उत्पादन कम भएकाले समस्या भएको उनको भनाई छ । थिमिको बोडे, नगदेशलगायतका कृषकले यो समयमा काउली, ब्रो काउली, बन्दा, मूला, गान्टे मूला, गाँजर, हरियो लसुन, हरियो प्याज, धनिया, चौसुर, पालुङ्गो, विभिन्न जातका सागलगायतका तरकारी फलाउने गर्दछन् ।
मल समयमा नपाउने, ज्याला महँगो हुने, बीऊ अत्याधिक महँगो भएको र विषादीसमेत महँगो भएकाले कृषकले विस्तारै तरकारी व्यवसाय छाड्दै जान थालेको कृषकले बताएका छन् । विगतका वर्षमा व्यावसायिक रुपमा गाउँगाउँमा काउली, साग र गोलभोडाको खेती गर्ने भए पनि यस वर्ष गाउँगाउँमा समेत यस्ता तरकारीखेती घटेकाले उत्पादन पनि कम भएको छ ।
गाउँबाट कृषकले बजारमा तरकारी लिएर आउने गरेपनि अहिले भने यो क्रम ज्यादै न्यून छ । तरकारी खोज्दै व्यापारी घरघर मै पुग्ने भए पनि व्यापारीले कृषकलाई ज्यादै न्यून मूल्य दिने गरेपछि कृषकको तरकारीखेतीतर्फको आकर्षण घटेको हो ।
भक्तपुर च्यामासिंहका तरकारी व्यापारी हरिकृष्ण मचामासीले विगतका वर्षमा यो समयमा जिल्लाका ताथली, सुडाल बागेश्वरी, नगरकोट, सिपाडोल, नङ्खेल र चित्तपोलका कृषकले तरकारी लिएर बिक्री गर्न आउने गरेपनि यस वर्ष यसरी किसान नआएपछि भक्तपुर मै पनि हरियो तरकारीको अभाव भएको बताए । यस वर्ष तरकारी लिएर आउने किसान थोरै भएको र कम मात्रै तरकारी गाउँबाट आएपछि यहाँका व्यापारीले कालीमाटी नै पुगेर तरकारी ल्याउन परेको बताए । अहिले भक्तपुरमा किसानबाट व्यापारीले काउली प्रतिकिलो ५०, साग प्रतिमुठा तीन, रातो आलु प्रतिधार्नी एक सय, सेतो आलू प्रतिधार्नी ८०, गोलभोडा प्रतिकिलो ४० मा किन्ने गरेको कमल विनायकका तरकारी व्यवसायी रामेश्वरी श्रेष्ठले बताए ।
व्यापारीले भने उपभोक्तालाई काउली ७० देखि ८०, गोलभोडा ७०, साग प्रतिमुठा पाँच, आलु रातो प्रतिधार्नी एक सय २५ देखि एक सय ३०, सेतो आलु प्रतिधार्नी ९५ देखि एक सय सम्ममा बिक्री गर्ने गरेका छन् ।
प्रतिक्रिया