३०२ उम्मेदवार बन्दसूचीबाट हटाइए

Elecatation Commisationकाठमाडौं, १ मंसिर । निर्वाचन आयोगले दोस्रो संविधानसभा चुनावका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारको टुंगो लगाएको छ । आयोगले मापदण्ड नपुगेका र नाम फिर्ता लिन निवेदन दिएका गरी ३ सय २ जनालाई बन्दसूचीबाट हटाएपछि समानुपातिक उम्मेदवारको संख्या १० हजार ७ सय ९ कायम भएको छ ।

४ मंसिरमा हुन लागेको चुनावका लागि समानुपातिकतर्फ १ सय २२ दलले ११ हजार ११ उम्मेदवारको बन्दसूची आयोगमा पेस गरेका थिए । समानुपातिक चुनावका लागि कांग्रेसको ३३४, एमालेको ३३३, एमाओवादीको ३३२, नेकपा (माले)को ३३२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको ३३०, संघीय समाजवादीको ३३०, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१८ उम्मेदवार कायम भएको छ । त्यस्तै मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को २७१, मधेसी जनअधिकार फोरम नेपालको १००, तराई मधेस लोकतान्त्रिक पार्टीको १००, सद्भावना पार्टीको १०० उम्मेदवार बन्दसूचीमा छन् । देशलाई नै एउटा क्षेत्र मानी दलले प्राप्त गरेको मतका आधारमा समानुपातिक प्रणालीबाट संविधानसभामा ३३५ जनाले प्रतिनिधित्व गर्नेछन् ।
आयोगले शुक्रबार योग्यता नपुगेका ३०२ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको हो । आयोगका अनुसार उमेर नपुगेका १ सय ४८, मतदाता नामावली सूचीमा नाम नभएका ७६ र एकभन्दा बढी दलबाट सिफारिस भएका ४८ उम्मेदवारलाई बन्दसूचीबाट हटाइएको छ । आयोगले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ नाम रहेका १९ जनाको उम्मेदवारी पनि रद्द गरेको छ । लाभको पदमा रहेका ४ र अदालतको अन्तिम फैसलाबाट सर्वस्वसहित जन्मकैद सजाय पाएका एकको नाम पनि आयोगले सुचीबाट हटाएको छ । आयोगले सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका बालकृष्ण ढुंगेलसहित ६ जनाको उम्मेदवारी यसअघि नै खारेज गरेको थियो । आयोगका अनुसार ६ जनाले भने नाम फिर्ता लिएका छन् ।
आचारसंहिता मिच्नेलाई स्पष्टीकरण
आयोगले आचारसंहिता उल्लघंन गरेका १९ राजनीतिक दलसहित अन्य स्वतन्त्र उम्मेदवार गरी हालसम्म १ सय ३७ जनालाई स्पष्टीकरण सोधेको जनाएको छ ।
आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त दोलखवहादुर गुरुङले देशभर अहिलेसम्म ४ सय २५ घटना भएको उल्लेख गर्दै स्पष्टीकरण सोधेको विषयमा जानकारी दिएका हुन् । आयुक्त गुरुङका अनुसार २४ ठाउँमा अवरोध गरिएको र २९ वटा विरोध र्‍याली निकालेको पाइएको छ । १२ जिल्लामा मतदान सामग्री लुटिएको, १ सय ६३ वटा शंकास्पद वस्तु फेला परेको, ३५ वटा बम विस्फोटका घटना भएका छन् ।
आयोगका अनुसार १५ स्थानमा बम प्रहार गरिएको र चुनावकै विषयमा दलहरूवीच ४३ ठाउँमा झडप भएको छ । तीमध्ये कतिपय स्थानमा चुनाव बहिष्कार गरेको दल नेकपा–माओवादी र चुनावमै रहेका दलहरूवीच पनि हिंसात्मक घटना भएको छ । ती झडपमा ३५ जना घाइते भएका छन् ।
हिंसामा कमी आएको दाबी
निर्वाचन आयोगले अघिल्लो चुनावमा भन्दा यसपटक हिंसात्मक घटनामा कमी आएको दाबी गरेको छ । चुनाव बहिष्कारका नाममा मुलुकभर भइरहेका हिंसात्मक घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै आयोगले हिंसात्मक घटना भने अघिल्लो चुनावमा भन्दा कमी आएको दाबी गरेको हो । आयोगले हिंसात्मक घटनालाई रोकेर निर्वाचन सफल पार्न सबैसँग सहयोग मागेको छ ।
‘चुनाव बहिष्कारका नाम देशभर छिटपुट घटना भए पनि अघिल्लो चुनावको तुलनामा ३० प्रतिसत मात्रै हिंसात्मक घटना भएका छन,’ निर्वाचन आयुक्त गुरुङले भने, ‘मतदान सामग्री सुरक्षाकर्मीको सुरक्षामा देशभर पठाइसकिएको छ । चुनावी प्रक्रियामा ढुक्क भई सहभागी हुन सबैलाई आग्रह गर्छु ।’
उनले मतदाता नामावलीमा नाम रहेको तर कुनै विशेष कारणले अस्थायी परिचयपत्र नपाएका मतदाताले पासपोर्ट, नागरिकता वा लाइसेन्स देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएको जानकारीसमेत दिए । चुनावका लागि खटाइएका २ लाख १४ हजार सरकारी कर्मचारी पनि शुक्रबार नै कार्यस्थलमा पुगिसकेको आयोगले जनाएको छ । आयोगले चुनावमा खटेका कर्मचारीका लागि १५ लाखको विमा गरेको छ ।
कस–कसले
नाम फिर्ता लिए ?
खस समावेशी राष्ट्रिय पार्टीका प्रेमबहादुर क्षेत्री, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामनाथ मण्डल (खत्वे), नेपाल शान्ति क्षेत्र परिषद्का मधुसुदन ढकाल, दलित जनजाति पार्टीका मिना वयलकोटी (नेपाली), राष्ट्रिय स्वाभिमान पार्टी नेपालका भवकृष्ण खतिवडा, सोही पार्टीका लीलादेवी विमली ।

प्रतिक्रिया