सर्वोच्चविरुद्ध वैद्यको हुंकार

Mohan-Baidhyaकाठमाडौं, १ मंसिर । ४ मंसिरमा हुने दोस्रो संविधानसभा चुनाव बिथोल्ने गरी गतिविधि गरिरहेको नेकपा–माओवादीले सर्वोच्च अदालतको आदेश नमान्ने जनाएको छ । यातायात बन्द फिर्ताका लागि सर्वोच्च अदालतले दिएको आदेश माओवादीले फिर्ता पठाइदिएको छ । सर्वोच्चले बिहीबार बन्दले स्वतन्त्रतापूर्वक आउजाउ गर्ने संवैधानिक अधिकार कुण्ठित भएको भन्दै तत्काल बन्द फिर्ता लिन नेकपा–माओवादी नेतृत्वको मोर्चाको नाममा अन्तरिम आदेश दिएको थियो ।

माओवादी नेताहरूले शुक्रबार पार्टी कार्यालय बुद्धनगर पुगेको सर्वोच्चका कर्मचारीलाई आदेश नै नबुझी फिर्ता पठाईदिएका छन् । माओवादी अध्यक्ष मोहन वैद्यले शुक्रबारै पत्रकार सम्मेलन गरी सर्वोच्चको आदेश नमान्ने प्रतिक्रिया दिएका छन् । अदालतको स्वतन्त्रता र गरिमा नै समाप्त भइसकेको जिकिर गर्दै अध्यक्ष वैद्यले उसको आदेशको कुनै अर्थ नै नभएको टिप्पणी गरे ।
वैद्यले सर्वोच्च अदालत जनताको अदालत नै नभएको आरोप पनि लगाउदै अदालत आफ्नै तरिकाले र आफूहरू आफ्नै तरिकाले अघि बढ्ने बताए । ‘हामी स्वतन्त्रत अदालतको पक्षमा छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘वास्तवमा भन्ने हो भने यो जनताको अदालत नै होइन ।’
सरकार प्रमुख र न्यायापालिका प्रमुख शक्ति पृथकीकरण सिद्धान्तविपरित एउटै व्यक्ति भएको उल्लेख गर्दै उनले अन्तरिम चुनावी मन्त्रीपरिषद अध्यक्ष खिलराज रेग्मीविरुद्ध परेका एक दर्जनभन्दा बढी मुद्धाको पेसी सारेर अदालतले नै आफ्नो निष्पक्षतामा प्रश्न उठाएको र गरिमा समाप्त पारेको उनको भनाइ थियो । ‘एकै व्यक्ति सर्वोच्च अदालतको प्रधानन्यायाधीश र कार्यपालिकाको प्रमुख भएर दमनमा उत्रिएको छ,’ उनले भने, ‘कार्यपालिका र न्यायपालिका एउटै व्यक्तिमा रहेकाले पनि जनताका सम्पूर्ण अधिकार समाप्त पारिएको छ ।’
आफूहरूले पहिलेदेखि नै राष्ट्रिय सहमति नगरे चुनाव बहिस्कार गछौं भन्दा भन्दै सहमतिलाई लत्याएर अघि बढ्दा शान्तिपूर्ण आन्दोलनलाई उनीहरू (सरकार र प्रमुख दल)ले हिंसात्मक बाटोमा जान बाध्य पारेको उनले जनाए । ‘सहमतिलाई लत्याएर अघि बढेपछि जनता आक्रोशित छन्, कार्यकर्ता आक्रोशित छन्,’ उनले भने, ‘जनताको हकअधिकार कुण्ठित गरेपछि उत्पन्न भएका घटनाको मुख्य जिम्मेवारी र जवाफदेहिता सरकारकै हो ।’
ठाउठाउँमा चुनावको पक्षमा रहेका दलहरूबीच नै लडाई भएको उल्लेख गर्दै उनले अहिलेको घटनाको जिम्मेवारी आफ्नो पार्टीलाई लगाउनु गलत भएको जिकिर गरे । बन्दका क्रममा देशभरबाट ३३ दलका डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता गिरफ्तार गरिएको जानकारी दिदै उनले तत्काल रिहाई गर्न माग गरेका थिए ।
त्यस्तै वैद्यले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल अहिलेको प्रमुख खलनायक भएको आरोपसमेत लगाए । ‘प्रचण्डले इतिहासमा ठूलो अपराध गरेका छन् । अहिलेको देशको परिस्थिति निम्त्याउने प्रमुख खलनायक नै प्रचण्ड हुन्,’ उनले भने ।
दाहालले मानसिक रुपमा पराजित भएको तथा अपराधबोधले थिचिएको महसुस गरिरहेको दाबी गर्दै उनले दाहाललाई आफ्नो पार्टीले मार्न लागेको भन्ने कुरा झुटो भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया