धनगढी, १ मंसिर । संविधानसभा सदस्य निर्वाचनका लागि खटाइएका कर्मचारीहरु धमाधम नियुक्ती पत्र र निर्वाचनका आवश्यक सामग्री बुझी आ आफ्नो मतदान केन्द्रतर्फ जान थालेका छन् ।
६ वटा निर्वाचन क्षेत्र र ४ सय ८२ मतदान केन्द्र रहेको कैलालीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, स्वयंमसेवक तथा अन्य गरी ५ हजारको हाराहारीमा कर्मचारी निर्वाचनका लागि खटिएको निर्वाचन अधिकारी बिशकसेन ढकालले बताए । ४ सय ८२ मतदान केन्द्र मध्ये १० वटा अस्थायी मतदान केन्द्र हुन् ।
निर्वाचन अधिकारी ढकालकाअनुसार ४ सय ८२ मतदान केन्द्रका लागि ४ सय ८२ मतदान अधिकृत, त्यतिनै संख्यामा सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी ३ हजार ५ सय र स्थानीयस्तरमा दुई हजार स्वंयम्सेवक खटाइएको छ ।
निर्वाचनमा खटिएका कर्मचारीहरुले शनिबार साझसम्म आ आफ्नो मतदान केन्द्रमा उपस्थित भइसक्नुपर्ने छ । यसका लागि हाल धनगढीस्थित अदालत परिसर र जिल्ला विकास समितिको कार्यालयमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती पत्र र निर्वाचन सामग्री बुझाउने काम भइरहेको कैलालीका मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टले बताए ।
टाढाको मतदान केन्द्रमा खटिएका सबै कर्मचारीहरुले आवश्यक पर्ने निर्वाचन सामग्रीसहित आ आफ्नो क्षेत्रमा गइसकेका छन् भने नजिकका मतदान केन्द्रमा खटिएकाहरुले पनि नियुक्ती पत्र र निर्वाचन सामग्री लिइरहेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
भट्टकाअनुसार शुक्रबारदेखि जिल्लाका सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने कार्य पनि सुरु भएको छ । २ गते आइतबार साझसम्म मतदाता परिचयपत्र वितरण गरिने छ । यदी कोही मतदाताको परिचयपत्र लिन छुटेमा नेपाल सरकारद्वारा जारी गरिएको नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट देखाएर पनि मतदान गर्नसक्ने ब्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
यसैगरी सुरक्षाको पर्याप्त व्यवस्था मिलाइसकेकोले ढुक्क भएर निर्वाचनका कार्यक्रममा सहभागी हुन प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले आग्रह गरेका छन् । कसैले चुनावी विरोधी गतिविधि गर्न खोजेमा, सुरक्षाकर्मी त्यस्ता गतिविधि निस्तेज पार्न सक्षम रहेको उनले बताए ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न ६ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका बेसक्याम्प राखिएका छन् भने प्रत्येक निर्वाचन क्षेत्रमा शसस्त्र प्रहरी र नेपाल प्रहरीका ६ वटा, नेपाली सेनाको ३ वटा मोबाइल गस्ती भइरहेको कैलाली प्रहरी प्रमुख एसपी मोहनराज जोशीले बताए ।
प्रतिक्रिया