काठमाडौं, २९ कात्तिक । भारतले दोस्रो संविधानसभा चुनावका लागि निर्वाचन आयोगलाई ४८ वटा गाडी उपलब्ध गराएको छ ।
भारतीय राजदूत रञ्जित रेले बिहीबार आयोगका सचिव नरेन्द्र दाहाललाई सहयोगस्वरु उपलब्ध गराएको ५ करोड ५० लाख मूल्यबराबरका गाडीको साचो हस्तान्तरण गरे । भारतले उपलब्ध गराएको गाडीमा ३ वटा मिनी ट्रक, ५ स्कारपियो गाडी र ४० वटा पिकअप छन् ।
गाडी हस्तान्तरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्वच्छ र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन आयोग लागिपरेको सन्दर्भमा भारतीय सहयोग महत्वपूर्ण रहेको बताए । चुनावलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि आयोगको तर्फबाट भरमग्दुर प्रयास भइरहेको उनको भनाइ थियो
राजदूत रेले नेपालमा ४ मंसिरमा हुने चुनावका लागि सहयोग गर्नु भारत सरकार र भारतीय जनताको नजिकको मित्रको कर्तव्य भएको बताए । उनले चुनावबाट नेपाल नया लोकतान्त्रिक प्रक्रियामा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै भारत नेपालको शान्ति, समृद्धि, स्थायित्व र विकासमा सधैं सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । बुधबार मात्र भारत सरकारले ७ सयभन्दा बढी गाडी गृह मन्त्रालयलाई प्रदान गरेको थियो ।
प्रतिक्रिया