कम्तीमा वर्षमा १ पटक आँखा परीक्षण

eyeकाठमाडौं, २९ कात्तिक । आँखामा कुनै समस्या नभए पनि नियमित परीक्षण गराउन आँखा विशेषज्ञहरूले आग्रह गरेका छन् । विश्व मधुमेह दिवस २०१३ को सन्दर्भमा तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा विहिवार यहाँ आयोजित ‘मधुमेहले आँखामा पार्ने असर र आँखा स्वास्थ्य शिक्षा’ विषयक अन्तक्र्रियामा आँखा विशेषज्ञहरूले आँखामा समस्या नभए पनि कम्तीमा वर्षमा एक पटक आँखा परीक्षण गराउनुपर्ने सल्लाह दिएका छन् ।

नेत्र रोग तथा रेटिना विशेषज्ञ डा रभा थापाले भनीन् “मधुमेहले आँखामा धेरै नै असर गरिसकेपछि मात्र बिरामी अस्पताल आउने गरेको पाइन्छ, त्यस्तो अवस्थामा राम्रो दृष्टि जोगाउन सकिँदैन ।”शरीरको प्यानक्रियाजबाट निस्कने इन्सुलिन नामको ग्रन्थीरसको कमी भएर वा यसले गर्नुपर्ने काममा रोकावट आएर रगतमा ग्लुकोजको मात्र बढ्नुलाई मधुमेह भनिन्छ । डा थापाले मधुमेहले शरीरका महत्वपूर्ण अङ्ग जस्तै स्नायु, मिर्गौलाका साथै आँखामा विभिन्न जटिल समस्या निम्त्याउने र मुख्यत आँखाको पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने बताए ।
मधुमेहले पटक–पटक आँखामा आनो आउने, आँखा सुख्खा हुने, छिटोछिटो चश्माको पावर परिवर्तन हुने, मोतिबिन्दु छिटो देखापर्ने जलबिन्दुको सम्भावना बढी हुनेलगायत आँखाको पर्दामा गम्भीर असर पार्ने र जसले अन्त्यमा मानिसलाई दृष्टिविहीन पनि बनाउन सक्ने डा थापाको भनाइ थियो । एक तथ्याङ्कअनुसार संसारका ४.८ प्रतिशत अन्धोपना मधुमेहकै कारण हुन्छ ।

प्रतिक्रिया