दाहालले खटाए पेस्तोलसहितका “गुन्डा”

PRACHANDAकाठमाडौं, २८ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंबाट दोस्रो संविधानसभा चुनाव जित्नका लागि हतियारसहितका ‘गुन्डा’ परिचालन गरेको खुलासा भएको छ । चुनावमा अवरोध बन्नेलाई ‘सिध्याएरै अघि बढ्ने’ रणनीतिका साथ दाहालको पक्षमा गुन्डा खटाएको पाइएको छ ।

काठमाडौं क्षेत्र नम्बर १० मा उम्मेदवार रहेका अध्यक्ष दाहालले चुनावी परिणाम जसरी भए पनि आफ्नो पोल्टामा पार्न गोप्य तवरले पेस्तोलसहित तीन गुन्डा र ४० को संख्यामा युवा दस्ता तयार गरेको रहस्य खुल्न आएको हो । मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमालेका शीर्ष नेताहरु आफ्नो क्षेत्रमा मात्र सीमित रहेका बेला देश दौडाहामा रहेका दाहालको पक्षमा चुनावी परिणाम पार्न गुन्डा खटाएको पाइएको हो । दाहाल काठमाडौं १० र सिरहा–५ गरी दुई क्षेत्रबाट चुनावमा उठेका छन् । काठमाडौं १० मा कांग्रेसबाट राजन केसी र एमालेबाट सुरेन्द्र मानन्धर मुख्य प्रतिस्पर्धीका रूपमा छन् ।
दाहालले उक्त क्षेत्रमा हार्ने सम्भावना बढे एमाओवादीका तर्फबाट ‘अप्रिय घटना’समेत हुन सक्ने आँकलन गरिएको उच्च सुरक्षा स्रोतले सौर्यलाई बतायो । सुरक्षा निकायले सम्भावित घटनालाई लिएर निकै संवेदनशील मानेको त्यस क्षेत्रमा दाहालकै निर्देशनमा पेस्तोलसमेत दिएर युवाहरु खटाएको रिपोर्ट आए पनि प्रहरीले भने कारबाही प्रक्रिया अघि बढाउन नसकेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार पेस्तोलसहित खटिएका युवाहरु दिनभर चोक–चोकमा रहने तथा बेलुकीपख भने गेस्टहाउसमा गएर बास बस्ने गरेका छन् । यसैगरी, युवा दस्तालाई २४ सै घन्टा हाइअलर्टमा राखिएको छ । युवा दस्ता सतुंगलस्थित कञ्चनवस्ती एमाओवादी निर्वाचन कार्यालयमा बस्दै आएका छन् । उक्त दस्तालाई ‘साइलेन्स फोर्स’ नाम दिएको पाइएको छ ।
चुनावमा पार्टी अध्यक्षले हारे जंगल जानुपर्ने परिस्थितिसमेत आउन सक्ने भन्दै दाहालले आफ्नो क्षेत्रका सबै पार्टी कमिटीलाई सबै शक्ति प्रयोग गरी चुनाव जित्ने लाइनमा लाग्न निर्देशनसमेत दिएको एमाओवादी स्रोतले जनाएको छ । दाहालको निर्देशनसँगै काठमाडौं १० मा नेता तथा कार्यकर्ता दिनहँु बैठक बसेर भोट तान्न सक्दो कसरतमा लागिपरेका छन् । जसका लागि पार्टीले चुनाव प्रचारलाई तीव्रता दिएको छ ।
दाहालको हार–जितको चर्चा चलिरहँदा बुधबार स्थानीय बुद्धिजीवीले एमाओवादीलाई भोट दिन सार्वजनिक आह्वान नै गरेका छन् । बुद्धिजीवीले नै दाहालको पक्षमा सार्वजनिक भोटको अपिल गर्नुलाई राजनीतिक विश्लेषकहरुले त्यहाँ स्थिति कमजोर रहेको विश्लेषण गरेका छन् ।
‘अध्यक्षको सुरक्षामा विशेष ध्यान दिनुपर्‍यो’
काठमाडौं : एमाओवादीले चुनावको संघारमा आइपुग्दा सरकारी सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई लक्ष्य गरी बुधबार कञ्चनपुरको ढक्कापुरमा बम विस्फोटको प्रयास भएपछि एमाओवादीले सरकारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठाउँदै दाहालको सुरक्षामा विशेष ध्यान दिन माग गरेको हो । शीर्ष नेता जुन जिल्ला जान्छन्, त्यहीँ जिल्ला बन्द गर्ने घोषणा गरेको नेकपा–माओवादीले दाहाललाई मुख्य निशानामा पार्दै आएको छ ।
‘राष्ट्रिय राजनीतिका केन्द्र बन्नुभएको नेतामाथिको यो आक्रमण संविधानसभामार्फत अग्रगामी संविधान बनाउने र समातामूलक आर्थिक सम्वृद्धि दिलाउने महाअभियानविरुद्धको षड्यन्त्र हो,’ पार्टी प्रवक्ता अग्नि सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीसमेत रहिसक्नुभएका नेतृत्वलाई नै लक्षित गरेर भएको विस्फोटले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।’
एमाओवादीले उक्त घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गरेको छ । एमाओवादीले यस्ता आक्रमणबाट पार्टीपंक्ति कत्ति पनि विचलित नहुने जनाएको छ । ढक्कापुरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।

प्रतिक्रिया