काठमाडौं, २७ कात्तिक । नेकपा–माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले शान्ति पूर्ण प्रदर्शनका क्रममा आफ्ना समर्थक शिक्षक–कर्मचारीहरुलाई सुरक्षा निकायले पक्राउ गरेको भन्दै भत्र्सना गरेको छ ।
पक्राउ परेका आफ्ना नेता तथा समर्थकहरु विनासर्त रिहाई नगरिए कडा आन्दोलन गर्ने संगठनले चेतावनी दिएको छ ।
संगठनका अध्यक्ष लालबहादुर बिसीले आज (बुधबार) विज्ञप्ति जारी गरेर निर्वाचन बहिष्कारको आशंकामा शिक्षक–कर्मचारी माथि चौतर्फी आक्रमण भएको जनाएको छ ।
उनले राष्ट्रिय सहमतिविना केही राजनीतिक पार्टीहरुले कथित संविधानसभा निर्वाचनको नौटङ्की गरिरहेको जनाएका छन् ।
‘संविधानसभा निर्वाचनको बहिष्कार गरेको आशंकामा शिक्षक–कर्मचारीमाथि सरकारबाट चौतर्फी आक्रमण भइरहेको छ,’ अध्यक्ष बिसीले भनेका छन् ।
कात्तिक २७ गते बिहान कालिका उमावि बुटवलमा काम गरिरहेका संगठनका महासचिव घनश्याम पाठकलाई प्रहरीले सोधपुछ गर्ने भनी इलाका प्रहरी कार्यालय बुटवलमा राखिराखेको भन्दै बिसीले रिहाइको माग गरे ।
कात्तिक २५ गते निर्वाचन बहिष्कार कार्यमा संलग्न भन्दै कास्कीका जिल्ला उपाध्यक्ष देव क्षेत्रीलाई आफ्नै पसलबाट, कास्कीकै विद्यालय कर्मचारी सन्देश गुरुङलाई विद्यालय प्राङ्गणबाट र २६ गते दिउँसो संगठनका नुवाकोट सल्लाहकार पारसलाल तामाङ्लाई विद्यालयबाटै गिरफ्तार गरी राखेको विज्ञप्तिमा उल्लेख छ ।
संगठनले देशका विभिन्न जिल्लामा राजनीतिक आस्थाको कारण शिक्षक–कर्मचारीहरुलाई धरपकड गर्ने, झुठा मुद्दा लगाउने र नाटकीय शैलीबाट गिरफ्तार गर्ने काम रोक्न सरकारसँग माग गरेको छ ।
‘सरकारको रवैया हेर्दा पञ्चायतकालीन कालरात्रीको स्मरण भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको नाममा सरकार फाँसीवादको अभ्यास गरिरहेको छ ।’
राजनीतिक आस्थाको कारण शिक्षकहरुलाई धरपकड गर्ने, गिरफ्तार गर्ने र सार्वजनिक मुद्दा लगाउने सरकारी हर्कतको संगठन भत्र्सना गरेको छ ।
प्रतिक्रिया