काठमाडौं, २७ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघले यातायात बन्दका विरुद्ध शान्ति र्याली प्रदर्शन गरेको छ ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दका बिरुद्ध महासंघले आज (बुधबार) राजधानीमा शान्ति र्याली प्रदर्शन गरेको हो । महासंघको शान्ति र्यालीलाई बिरोधीहरुले शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।
महासंघको शान्ति र्याली काठमाडौंको टुडिखेलबाट सुरु भएको हो । र्यालीले रत्नपार्क, माइतीघर, कोटेश्वर, लोकन्थली, भक्तपुर, ललितपुरलगायतका स्थानको परिक्रमा गर्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
शान्ति र्यालीमा सवारी साधनसहित उद्योगी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको छ । व्यवसायीहरु र्यालीमा आ–आफ्ना सवारी साधनसहित छन् ।
यसैबीच, महासंघका अध्यक्ष सुरज वैद्यले नेकपा–माओवादीसहितका ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दको बिरोध गरेका छन् । उनले मोर्चाका राजनीतिक मागलाई वार्ता र सम्वाद मार्फत टुङगो लगाउनु पर्ने बताए ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मंसिर–५ गते सम्म यातायात बन्द आह्वान गरे पछि उद्योगी ब्यवसायीले बिरोधमा शान्ति र्याली निकालेका हुन् ।
प्रतिक्रिया