काठमाडौ २५ कात्तिक । नेकपा–माओवादीलगायत तेत्तीस दलीय मोर्चाले गर्ने भनिएको आमहडताल फिर्ता लिन विभिन्न पेसाकर्मी र नागरिक समाजका अगुवाले आग्रह गरेका छन् । आइतवार आयोजित कार्यक्रममा उनीहरूले बन्दकर्ताले बन्द फिर्ता लिनुपर्ने तथा सरकारले पनि धम्कीको भाषा प्रयोग गर्न नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भाष्करराज कर्णिकारले एक दिनको बन्दले दैनिक रु दुई अर्ब घाटा हुने तथ्याङ्क प्रस्तुत गर्दै बन्दको विरोधमा आफूहरू उभिने बताए । यसअघिका बन्दको क्रममा भएको क्षतिको रकम सरकारले दिने भने पनि अहिलेसम्म नदिएको भन्दै यस पटक पनि सरकारले दिने भनेको क्षतिपूर्ति रकम दिनेमा आफूहरू विश्वस्त हुन नसकेको धारणा राखे । नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले बन्द गर्ने अधिकार लोकतान्त्रिक अधिकार भएको बताउादै बन्दकर्तालाई सरकारले पक्राउ गर्छु भन्नु असंवैधानिक भएको धारणा राखे । नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले बन्द गरेर नागरिकको मतदान गर्ने अधिकार कुण्ठित गर्ने प्रयास गर्न नहुनेमा जोड दिए । मानवअधिकारवादी सुदीप पाठकले बन्दकर्तालाई बन्द फिर्ता लिन र सरकारलाई पनि दमनको भाषा नबोली वार्ता प्रक्रिया सुरु गर्न आग्रह गरे । नागरिक समाजका डा सुन्दरमणि दीक्षितले बन्द गरेर निर्वाचन रोक्न खोज्नु मुलुकमाथिको अन्याय भएको धारणा राखे ।
प्रतिक्रिया