एमाओवादीको अभियान अनुमति लिएरै : आयोग

Elecatation Commisationकाठमाडौं, २५ कात्तिक । निर्वाचन आयोगले एमाओवादीले अनुमति लिएरै मेची–महाकाली जागरण अभियान चलाएको जनाएको छ ।

एमाओवादीले जागरण अभियानका नाममा चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएपछि आयोगले यस्तो जनाएको हो । झापाबाट गत बुधबार एमाओवादीले सुरु गरेको जागरण अभियानमा सवारीसाधन, झन्डा तथा ब्यानरको अत्यधिक प्रयोग र भोजभतेर गरेको भन्दै कांग्रेसले आचारसंहिता उल्लंघन रोक्न आयोगको ध्यानाकर्षण गराएको थियो । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाओवादीले आयोगसग अनुमति लिएर मात्र अभियान चलाएको जानकारी दिएका हुन् । ‘मेची महाकाली अभियान अनुमति लिएर नै भएको हो । सभाजुलुस गर्न पाइन्छ,’ आयुक्त यादवले भने, ‘बाटो भने अवरुद्ध गर्न पाइदैन । कसैले गरे हामी सचेत गराउछौं ।’
त्यसैगरी आयोगले राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारबाट आचारसंहिताविपरीत चुनाव प्रचार गरेको भनी परेको उजुरीका आधारमा छानबिन गरी सम्बन्धित दल तथा उम्मेदवारलाई कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ । आयोगको मिडिया सेन्टरमा आइतवार पत्रकारसग आयुक्त यादवले यस्तो जानकारी गराएका हुन् । ‘आचारसंहिताविपरीत कार्य भएको भन्दै आयोगमा ७१ वटा उजुरी परेकोमा ती उजुरीउपर छानविन गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई आयोगले निर्देशन दिइसकेको छ,’ उनले भने ।
आयोगले सिन्धुली क्षेत्र नं. २ मा एमाओवादीले हासिया हथौडा अंकित टिसर्ट, रंगिन ठूलो साइजको पोष्टर प्रयोग गरेको पाइएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सम्बन्धित दललाई त्यस प्रकारको गतिविधि नगर्न नगराउनु निर्देशन दिइएको बताएको छ । त्यसैगरी आचारसहिंताविपरित कालिकोट क्षेत्र नं. १ मा एमालेले निर्वाचन चिन्ह अंकित टोपी तथा जकेट बााडेको भनी परेको उजुरीमाथि छानविन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट त्यस्तो नगर्न सो दललाई सचेत गराइएको पनि आयोगले जानकारी दिएको छ ।
‘दार्चुला क्षेत्र नम्बर १ मा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले सवारीसाधन निर्वाध सञ्चालन भएको अवस्थामा हेलिकप्टर प्रयोग गरेको पाइएकाले आयोगबाट आवश्यक कारबाहीका लागि पत्र पठाएको छ,’ आयोगका विज्ञप्तिमा भनिएको छ । कपिलवस्तु ३ मा विभिन्न राजनीतिक दलबाट सवारी साधन निर्वाध सञ्चालन भएको अवस्थामा हेलिकप्टरको प्रयोग गरेको भनी उजुरी परेकोमा पनि आयोग टोलीले अनुगमन गरेको छ । अनुगमनका क्रममा ४ सयभन्दा बढी रंगीन पोष्टर पम्प्लेटसहित विनाअनुमति सञ्चालनमा रहेका २ वटा भारतीय नम्बरका गाडी कब्जामा लिई जिल्ला प्रशासन कार्यालयमा राखिएको पनि आयोगले जनाएको छ ।
क–कसले लिए हेलिकप्टरको अनुमति ?
निर्वाचन आयोगले विभिन्न राजनीतिक दलका नेताहरुका १७ वटा मागमा चुनाव प्रचारका लागि हेलिकप्टर प्रयोग गर्ने अनुमति दिएको छ । चुनाव प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न विभिन्न दलका पदाधिकारीबाट माग भएको भन्दै आचारसंहितालाई ध्यानमा राखी अनुमति दिइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार एमाओवादी नेता नारायणकाजी श्रेष्ठलाई कात्तिक २७ गते सिन्धुली, पााचथर र इलामका लागि हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको छ । त्यसैगरी आयोगले सोही पार्टीका नेता बाबुराम भट्टराईलाई कात्तिक २८ गते डडेलधुृरा, बझाङ, प्युठान, गुल्मी, पाल्पाका लागि हेलिकोप्टर प्रयोग गर्न पनि अनुमति दिएको छ । यसैगरी, कांग्रेसका सुजाता कोइरालालाई कात्तिक २५ गते ओखलढुंगा र अर्का नेता मिनेन्द्र रिजाललाई कात्तिक २६ गते खोटाङका लागि हेलिकोप्टर प्रयोगको अनुमति दिइएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई कात्तिक २४ गते लमजुङका लागि हेलिकोप्टर प्रयोग गर्न पनि आयोगले अनुमति दिएको छ ।

प्रतिक्रिया