काठमाडौं, २५ कात्तिक । एमालेले चुनावविरोधी गतिविधिले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई नै क्षति पुग्ने जनाएको छ ।
नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहड्ताललगायतका चुनावविरोधी कार्यक्रमको भत्र्सना गर्दै आइतबार एमालेले यस्तो उल्लेख गरेको हो । ‘नागरिकको मतदान गर्न पाउने नैसिर्गिक अधिकार अवरुद्ध गर्ने र मुलुकलाई राजनीतिक दिशातर्फ अगाडि बढाउने प्रक्रिया रोक्ने प्रयासले मुलुकलाई मात्र होइन, स्वयं माओवादीलाई समेत राजनीतिक रुपमा क्षति पुग्ने निश्चित छ,’ केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयका तर्फबाट प्रदीप नेपालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ आम जनताको अपेक्षा र मुलुकको आवश्यकताको विपक्षमा उभिएर आह्वान गरिएको आमहड्ताल फिर्ता लिन माग गर्दछौ ।’
माओवादीलाई राजनीतिक सहमतिमा ल्याउने र सम्मानजनक संलग्नताको वातावरण तयार पार्न एमाले सकारात्मक रहने विज्ञप्तिमा उल्लेख छ । संविधानसभा चुनावका क्रममा देशका विभिन्न भागमा भएका हिंसात्मक घटनाका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्तव्य तथा अदृष्य शैलीमा भएका कतिपय प्रचार सामग्रीप्रति पनि ध्यानाकर्षण भएको कमिटीले छ ।
एमालेले ताप्लेजुङ जिल्लाको खोक्लिङमा कात्तिक २३ गते आयोजना गरेको जनसभाका क्रममा ग्रिनेट प्रहार गरी बालकसहित सर्वसाधारण नागरिकलाई घाइते बनाएको घटनाप्रति पनि एमालेले खेद व्यक्त गरेको छ । विभिन्न राजनीतिक दलका तर्फबाट चुनाव प्रचारका क्रममा आचारसंहिताविपरित हालै व्यक्त गरिएका धारणाप्रति पनि एमालेले ध्यानाकर्षण भएको जनाएको छ । ‘कात्तिक २२ गते शुक्रबार प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र नेता केपी ओलीमाथि लगाएको आरोप यथार्थमा आफ्ना कर्तुत ढकछोप गर्ने कसरत बाहेक केही होइन,’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया