समानुपातिकको बन्दसूचीमा अन्तिम सोधनी हुँदै

काठमाडौं : एकै व्यक्ति दुई वटा दलको समानुपातिक तर्फको बन्द सूचीमा देखिएपछि निर्वाचन आयोगले त्यस्ता नामबारे सम्बन्धित पार्टी र उम्मेदवारलाई पत्राचार गर्ने क्रम सुरु गरेको छ ।
आयोगले यही कात्तिक २२ गतेदेखि समानुपातिकतर्फका उम्मेदवार स्वयम्ले पनि उम्मेदवारी फिर्ता लिन पाउने गरी आवेदन माग गरेको छ भने दोहोरो नाम परेकालाई पनि पत्राचार गरेको छ । त्यस्ता नामबारे यही कात्तिक २८ गतेसम्म आवश्यक सोधनी गरी २९ गते अन्तिम नामावली प्रकाशन गर्ने प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । यस क्रममा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट बन्दसूचीमा पर्नुभएका उम्मेदवार राज्यलक्ष्मी गोल्छाबारे आज एमालेले आयोगलाई पत्र पठाई उहाा आफ्नो पार्टीकै तर्फका उम्मेदवार हुनुभएको स्पष्ट गरेको छ । आयोगले यही कात्तिक २० को पत्र एमालेको तर्फबाट प्रस्तुत बन्दसूचीको नामावलीको क्रम सङ्ख्या १३८ मा नाम समावेश गरिएको उम्मेदवार गोल्छाको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समेतको तर्फबाट प्रस्तुत भएको व्यहोरा जानकारी गराएको थियो ।
त्यसको जवाफमा आज एमालेका राज्य व्यवस्था समितिका प्रमुख अष्टलक्ष्मी शाक्यले उम्मेदवार गोल्छा आफू स्वयम्ले पनि एमालेले प्रस्तुत गरेको बन्द सूचीलाई समर्थन गर्दै आफू नेकपा (एमाले) का समानुपातिक उम्मेदवार रहेको भनी दिनुभएको पत्रलाई आज आयोगमा पठाउनुभएको छ ।
पत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रस्तुत गरेको सूचीमा समर्थन नरहेको व्यहोरा उल्लेख गरी पार्टी अध्यक्ष झलनाथ खनाललाई सम्बोधन गरी दिनुभएको निवेदनको सक्कल प्रति समावेश गरिएको छ ।
यसअघि आयोगमा खस समावेशी पार्टी नेपालबाट बन्द सूचीमा परेका प्रेमबहादुर क्षेत्रीले आफ्नो इच्छाविपरीत पार्टीले नाम समावेश गरेको भनी फिर्ताका लागि आयोगमा आवेदन दिनुभएको थियो ।

प्रतिक्रिया