प्रहरी प्रशासन हईएलर्टमा राख्ने सरकारी निर्णय

sarkar logoकाठमाडौं, २४ कात्तिक । सरकारले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको बन्द र आमहड्ताल निस्तेजन पार्न भोलि सोमबारदेखि प्रहरी प्रशासनलाई हाईएलर्टमा राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्, आवश्यक सेवा संचालन तथा व्यवस्थापन समितिको आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले सुरक्षा व्यवस्थालाई मजवुत तुल्याउन र सवारी साधनहरुलाई यथावत संचालन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सोमबार विहानै हरियो तरकारी, दुध लगायतका वस्तुको ढुवानी हुने समयमै प्रहरी प्रशासन हाईएलर्ट पोजिशनमा रहने छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेषगरी काठमाडौं उपत्यका भित्र रहेका सबै प्रहरी कार्यालयहरुले विहान ४ बजेदेखि नै आ–आफ्नो क्षेत्रमा सवारी साधनद्वारा नियमित रुपमा पेट्रोलिङ्ग गर्ने छ ।’

सरकारले गृह मन्त्रालय र सुरक्षा निकायका सबै अंगहरुमा स्थापना गरिएको सुरक्षा संचालन सम्बन्धी उच्चस्तरीय संयन्त्रमा विहानैदेखि उच्च पदाधिकारीहरु उपस्थित भै फिल्डमा खटिएका प्रहरीलाई उच्च मनोवलका साथ काम गर्न निर्देश दिएको छ ।

सबै मन्त्रालयलाई भोलि सोमबारदेखि सरकारी कार्यालय र सेवालाई थप प्रभावकारी ढंगले संचालन गर्न तथा कर्मचारी नियमित रुपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको समितिले सबै सवारी साधनहरुलाई नियमित रुपमा संचालन गर्ने व्यवस्था मिलाउन पनि भनेको छ ।

यातायात व्यवसायी, मजदुर, उद्यमी व्यवसायीका छाता संगठनलगायत वस्तुगत संघ सस्थासँग व्यापार र उद्योग सूचारु गर्न बैठक पनि बोलाएको समितिका सचिव कृष्णहरि वास्कोटाले जानकारी दिए ।

प्रतिक्रिया