कपिलवस्तु, २४ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय राजनीतिमा स्पष्ट अडान नभएको एमालेले नेपाल र नेपालीलाई धोका दिएको आरोप लगाएका छन् ।
कपिलवस्तुमा आज (आइतबार) आयोजित चुनावी सभामा अध्यक्ष दाहालले एमालेका कारण राम्रा कार्यक्रम पनि लागू हुन नसकेको बताए । ‘हाम्रो पालामा इतिहासको सबैभन्दा राम्रो कार्यक्रम ल्याएका थियौं,’ उनले भने, ‘एमालेजस्तो वेइमानको सहारामा सरकार चलाएका कारण कार्यक्रम लागू गर्न सकिएन ।’
उनले तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई कारवाही गर्दा पनि एमालेले धोका दिएको दोहर्याए । ‘रुखमा चढाएर फेद ढाल्ने धोकेबाज एमाले हो,’ दाहालले भने ।
अध्यक्ष दाहालले कांग्रेसले जनता र मुलुकका लागि कुनै काम नगरेको बताए । ‘झोलाभरि टाउका ल्याउ बोराभरि पैसा लैजाउ भन्ने कांग्रेसीहरुले ल्याएको परिवर्तन होइन,’ उनले भने, ‘परिवर्तन हामीले ल्याएका हौं ।’
कांग्रेसलाई थोत्रो रुखको संज्ञा दिएका अध्यक्ष दाहालले भने, ‘थोत्रो रुखले उद्दार गर्द सक्दैन ।’ उनले एमालेका नेता मदन भण्डारीको निधनसँगै एमालेको पतन भएको दाबी गरे ।
प्रतिक्रिया