काठमाडौं, २४ कात्तिक । संविधानसभा निर्वाचन आउन ९ दिन मात्र बाँकी रहँदा चुनावी नतिजाको अनुमान गर्ने क्रम पनि बढ्दो छ । राजधानी काठमाडौंका मतदाता पनि चुनावी नजिताको अनुमान गर्नमा व्यस्त देखिन्छन् । दैनिकजसो चिया पसलदेखि चोक र सार्वजनिक स्थलमा विभिन्न राजनैतिक दलका कार्यकर्ता र मतदाता चुनावी सर्वेक्षण गर्नमा व्यस्त भेटिन्छन् । काठमाडौंमा दुई दुई जना पूर्वप्रधानमन्त्रीको उम्मेदवारी भएका कारण पनि निर्वाचन थप रोचक छ । संविधानसभाको पहिलो निर्वाचनपछि प्रधानमन्त्री बनेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा छन् । माधवकुमार नेपाल काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् भने दाहाल काठमाडांै १० बाट । दाहाल यस अघिको निर्वाचनमा सो क्षेत्रबाट विजयी भएका थिए । तर नेपाल सो क्षेत्रबाट पराजित भएका थिए । त्यसैले दाहालका लागि यो पटकको निर्वाचन विरासत जोगाउने अभियान हो । नेपालका लागि भने विगतको पराजयको पीडा भुल्दै प्रतिष्ठा जोगाउने मेलो हो यो निर्वाचन । काठमाडौं क्षेत्र नम्बर २ मा यसअघिको संविधानसभा निर्वाचनमा एकीकृत माओवादीका झक्कुप्रसाद सुवेदी विजयी भएका थिए । एमालेले सो क्षेत्रलाई आफ्नो किल्ला मान्दै आएको थियो । त्यसैले यो पटक एमालेका लागि सो क्षेत्र प्रतिष्ठाको विषय बनेको छ । त्यसै कारण पनि पूर्वप्रधानमन्त्री नेपालले आफ्नो चुनावी अभियानलाई सो क्षेत्रमा चुस्त बनाएका छन् । सो क्षेत्रमा यसपटक एमाओवादीबाट लिलामणि पोखरेल उम्मेदवारका रूपमा छन् । यता नेपाली कांग्रेसका तर्फबाट युवा नेतृ प्रतिमा गौतम चुनावी मैदानमा छन् । कुल ६३ हजार ८ सय ७३ मतदाता रहेको उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल ६७ हजार १ सय ४१ मतदाता थिए । यसपटक सो क्षेत्रमा ३ हजार २ सय ६८ मतदाता कम छन् । नेपालले यसपटक आफू जनताको घरदैलोसम्म पुगेकाले निर्वाचन जित्ने दाबी गर्छन् । यता एमाओवादीका लिलामणि पोखरेलले यसअघि पनि आफनै पार्टीले जितेका कारण आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसकी युवा नेतृ प्रतिमा गौतमले जनताले युवा नेतृत्व खोजेकाले आफ्नो जित हुनेमा आशावादी छिन् ।
काठमाण्डौ निर्वाचन क्षेत्र नम्वर १ को पनि चर्चा ब्यापक नै छ । प्रचण्ड पुत्री रेणुको उम्मेदवारीले सो क्षेत्रमा थप रौनक थपेको हो । रेणुको चुनावी चहलपहल अन्य उम्मेदवारको भन्दा बढी नै छ । यस अघिको संविधानसभा निर्वाचनमा नेपाली काग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । सो क्षेत्रमा अघिल्लो संविधानसभा निर्वाचनमा कुल ५१ हजार १ सय ७१ मतदाता थिए । यस पटक सो संख्या घटेर ३९ हजार १ सय ६४ मतदाता रहेका छन् । सो क्षेत्रमा यस पटक प्रकाश मान सिंह पुन चुनावी मैदानमा छन् । एमाओवादीकी रेणुसँगै एमालेकी विद्या न्यौपाने पनि प्रतिष्पर्धामा छन् । अघिल्लो पटक सहजै जितेका कारण र मतदाता माझ लोकप्रिय भएका कारण आफनो जीत हुनेमा प्रकाशमान सिंह विस्वस्त छन् । रेणुले पनि यस पटक निकै मिहिनेत गरेकाले र सो क्षेत्रका जनताले परिवर्तन चाहेकाले जित्नेमा आशावादी छिन् । विद्या न्यौपानेले पनि आफुलाई जनताले पत्याउने आशा गरिन् । एमाले महासचिव इश्वर पोखरेल, एमाओवादी नेता डा बाबुराम भट्टराई पत्नी हिसिला यमी, योगेश भट्टराई, गगन थापा, नन्दकिशोर पुन, हिमाल शर्मा, लगाएतका नेता पनि काठमाडौंबाटै चुनाव लड्दैछन् ।
संविधानसभाको पहिलो निर्वाचनमा भारी मत अन्तरले काठमाडौं–१० बाट विजयी भएका दाहाल र क्षेत्र नं.–७ बाट चुनाव जितेकी यमी दुबैका सामु विरासत जोगाउने चुनौती छ । यस पटक काठमाण्डौ क्षेत्र नम्वर ४ को पनि चर्चा बढी नै छ । काग्रेसका चर्चित युवा उम्मेदवार गगन थापा र एमाओवादीका नन्द किशोर पुन दुवै यो क्षेत्रबाट चुनावी मैदानमा छन् । यो क्षेत्रमा गगन थापाको विरुद्धमा सुप्रभा घिमिरे वागी उम्मेदवारका रुपमा छिन् । अघिल्लो पटकको संविधानसभा निर्वाचनमा विजयी भएकी सुप्रभालाई यो पटक पार्टीले टिकट दिएन । सुप्रभाले आफुलाई अन्याय भएको भन्दै पार्टी छाडेर स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा छिन् । सुप्रभाको उम्मेदवारीले गगनलाई केही अप्ठेरो पर्न सक्ने विश्लेषण गरिएको छ । तर गगन थापा आफनो जीतमा विश्वस्त देखिन्छन् । नन्द किशोर पुनले पनि विशेष मिहिनेत गरिरहेका कारण उनी पनि आफनो जीतमा आशावादी छन् । एमालेका तर्फबाट यो क्षेत्रमा निर्मल कुइकेल उम्मेदवार छन् । सो क्षेत्रमा यस पटक ५६ हजार ८ सय ८७ मतदाता रहेका छन् । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा ६२ हजार ८ सय २९ मतदाता थिए । काठमाण्डौ क्षेत्र नम्वर ५ को चुनावी चहलपहल पनि त्यतीकै रोचक छ । नेपाली काग्रेसका नरहरी आचार्य आफनो पुरानो जीतलाई कायम राख्न मिहिनेत गरिरहेका छन् । यता एमाले महासचिव इश्वर पोखरेल गुमेको साख जोगाउन दिन रात मिहिनेत गरिरहेका छन् । क्षेत्र नम्वर ५ मा एमाओवादी तुलनात्मक रुपमा यी दुइ दल भन्दा कमजोर रहेको विश्लेषकहरु बताउछन् । पोखरेल र आचार्यसँगै एमाओवादीका महेन्द्र श्रेष्ठ पनि प्रतिष्पर्धामा छन् । यस पटक ५५ हजार ३ सय ७७ मतदाता रहेको उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा ६२ हजार ९ सय ३६ मतदाता थिए ।
यता काठमाण्डौ क्षेत्र नम्वर ६ को पनि चर्चा कम छैन । एमालेका योगेश भट्टराई, एमाओवादीका हिमाल शर्मा सगै नेपाली काग्रेसका भिमसेन दास प्रधान चुनावी मैदानमा छन् । पूर्व मेयर केशव स्थापित पनि यही क्षेत्रबाट संघिय समाजवादी पार्टीको उम्मेदवारका रुपमा मैदानमा छन् । त्यसैले यो क्षेत्रमा कसले जित्छ भन्ने आकलन गर्न मुश्किल रहेको विश्लेषकहरु बताउछन् । कुल ५० हजार ८ सय ५४ मतदाता रहेको उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा ५६ हजार ७ सय ४६ मतदाता थिए ।
यता काठमाण्डौ क्षेत्र नं. ३ मा अघिल्लो पटक काङ्ग्रेसका तर्फबाट चुनाव जितेका चक्र ठकुरीसँगै, एमालेका रामेश्वर फुँयाल र एमाओवादीका गणेश रेग्मी प्रतिष्पर्धामा छन् । तीनै उम्मेदवारले आफु स्थानिय भएको विषयलाई जोडदार रुपमा उठाएका छन् । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल ५१ हजार २ सय ५८ मतदाता थिए । यस पटक यो क्षेत्रमा ४५ हजार ९ सय ५ मतदाता छन् ।
काठमाण्डौ क्षेत्र नं.–७ मा एमाओवादीकी यमीसँगै एमालेका रामवीर मानन्धर र काङ्ग्रेसकी प्रमिलासिंह डङ्गोल प्रतिष्पर्धामा छन् । हिसिलालाई आफनो पुरानो जीतलाई निरन्तरता दिने चुनौती यस पटक छ । यता एमालेका रामविर मानन्धर पूर्व वडा अध्यक्ष पनि हुन् । त्यसैले उनी स्थानिय माझ लोकप्रिय छन् । यता नेपाली काग्रेसकी उम्मेदवार प्रमिला सिंह पनि बलियो उम्मेदवारका रुपमा यस पटक देखा परेकी छिन् । त्यसैले यो क्षेत्रमा त्रिपक्षिय भिडन्त हुने अनुमान गरिएको छ । सो क्षेत्रमा यस पटक ५३ हजार ९० मतदाता छन् । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रमा ५८ हजार ९ सय ५४ मतदाता थिए ।
काडमाडौं क्षेत्र नं. ८ मा एमालेका जीवनराम श्रेष्ठसँगै एमाओवादीका मुक्ति प्रधान र काङ्ग्रेसका नवीन्द्रराज जोशी चुनावी प्रतिस्पर्धामा रहेका छन् । अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट नविन्द्र राज जोशी विजयी भएका थिए । जोशी यो पटक पनि आफु जित्नेमा विश्वस्त छन् । यता एमालेका जीवनराम श्रेष्ठले पनि आफनो अभियान बलियो भएको बताएका छन् । उनी पनि विजयी हुनेमा आशावादी छन् ।
सो क्षेत्रमा यस पटक ४६ हजार ४ सय ३० मतदाता छन् । सो क्षेत्रमा पूर्व महान्यायाधिवक्ता मुक्ती प्रधान एमाओवादीको तर्फबाट उम्मेदवार छन् । भट्टराई प्रधानमन्त्री भएको बेला महान्यायधिवक्ता भएका प्रधान अत्याधिक विवादमा तानिएका थिए ।
कठमाडौंको क्षेत्र नं.–९ मा काङ्ग्रेसका ध्यानगोविन्द रञ्जित सगै एमालेका कृष्णगोपाल श्रेष्ठ र एमाओवादीका देवेन्द्र पौडेल प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ५७ हजार ९ सय ५७ मतदाता छन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा ६६ हजार २ सय ५४ मतदाता थिए । यस अघिको निर्वाचनमा रन्जित विजयी भएका थिए । त्यसैले यो पटक पनि रन्जित र श्रेष्ठ विच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । एमाओवादीका पौड्याल भट्टराई प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहकार थिए ।
एमाओवादीका अध्यक्ष दाहाल प्रतिष्पर्धामा रहेका काठमाडौं क्षेत्र नं.–१० को चर्चा अन्य क्षेत्रको भन्दा बढी छ । सो क्षेत्रमा एमालेले सुरेन्द्र मानन्धर र काङ्ग्रेसले राजन केसीलाई चुनावी प्रतिष्पर्धामा उतारेको छ । अघिल्लो संविधानसभा निर्वाचनमा दाहालले भारी मत अन्तरले जीत हात पारेका थिए । त्यतीबेला कीर्तिपुर बासीले दाहाललाई विशेष सर्मथन गरेका थिए । तर यो पटक दाहाल विरुद्ध नारावाजी मात्र भएर दाहालको चुनावी अभियान समेत कीर्तिपुरमा प्रभावित भयो । कीर्तिपुरवासी दाहालसग रुष्ट भएको स्थानियहरु बताउछन् । त्यसैले दाहालका लागी यो पटकको निर्वाचन चुनौतीको रुपमा रहेको छ ।
कुल ६२ हजार ५ सय ७३ मतदाता रहेको उक्त क्षेत्रमा मानन्धर र केसीले पनि चुनाव जित्ने दाबी गरेका छन् । उक्त क्षेत्रमा अघिल्लो निर्वाचनमा कुल ६३ हजार ७ सय ८८ मतदाता थिए ।
प्रतिक्रिया