‘टिभी फिल्मी’लाई राप्रपा नेपालको ‘ट्याग’

Tv Filmy 1काठमाडौं, २२ कात्तिक । गोपीकृष्ण टेलिभिजन अर्थात टिभी फिल्मीले राप्रपा नेपाललाई सहयोग पुग्ने गरेर राजनीतिक चुनावी प्रचार प्रसारका सामाग्री दिन थाले पछि कांग्रेसले आपत्ति जनाएको छ ।

मनोरञ्जनका सामाग्री मात्रै प्रसारण गर्ने अनुमति लिएको टिभी फिल्मीले राप्रपा नेपालको चुनावी अभियानमा खुलेरै सघाउन थाले पछि निर्वाचन आयोगमा आज (शुक्रबार) उजुरी परेको हो । आयोगले पनि टिभी फिल्मीलाई कारबाही गर्ने आश्वासन दिएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले आचार संहिता विपरित टिभी फिल्मीले राप्रपा नेपालका पक्षमा सामाग्री प्रसारण गरेको भन्दै उजुरी दिएको जनाएको छ ।

हुनत टिभी फिल्मीका मालिक उद्धव पौडेल काठमाडौं क्षेत्र नम्बर चारबाट राप्रपा नेपालका प्रत्यक्ष तर्फका उम्मेदवार पनि हुन् । उनले आफ्नो चुनावी कार्यक्रममा पनि सो टेलिभिजन खुब प्रयोग गर्ने गरेका छन् ।

विभिन्न राजनीतिक आस्था बोकेका कलाकारलाई चुनावी कार्यक्रममा सँगै हिँडालेर चर्चा र विवादमा आइरहने पौडेललाई कांग्रेसको उजुरी पछि झट्का लागेको छ ।

गोपीकृष्ण टेलिभिजन अर्थात टिभी फिल्मी मनोरञ्जनात्मक कार्यक्रममा पनि विशेष गरेर नेपाली चलचित्र सम्बन्धी श्रव्यदृश्य सामाग्री देखाउन खुलेको टेलिभिजन हो । यद्यपि, आफ्नै अनुमति पत्रका बुँदा भुलेर राजनीतिक रुपमा उत्रिए पछि टिभी फिल्मीसँग कांग्रेस आक्रोशित भएको छ ।

कांग्रेस कार्यकर्ताहरुले टिभी फिल्मीलाई राप्रपा नेपालको मुख पत्रको आरोप समेत लगाएका छन् । उनीहरुले टिभी फिल्मीको राजनीतिक हरकत रोक्न आयोगलाई दवाव पनि दिएका छन् ।

उता, एमाओवादीका पूर्व प्रवक्ता दीनानाथ शर्माद्वारा सञ्चालन भएको आरोप खेप्दै आएको एबीसी टेलिभिजन बिरुद्धपनि कांग्रेसले उजुरी दिएको छ ।

एमाओवादीको चुनावी कार्यक्रम मेची–महाकाली जागरण अभियानको प्रत्यक्ष प्रसारण गरेर आचार संहिता उलंघन गरेको abc tvकांग्रेसको आरोप छ । कांग्रेसले एबीसी टेलिभिजनको आचार संहिता बिरोधी गतिविधि नियन्त्रण गर्न आयोगसँग माग गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि आचार संहिता उलंघन गर्ने एबीसी टेलिभिजनलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिएका छन् ।

एबीसी टेलिभिजनमा एमाओवादीका केही शीर्ष नेताहरुको लगानी रहेको आरोप पनि लाग्दै आएको छ । एबीसी टेलिभिजनमा एमाओवादीकै अत्याधिक समाचार र सामाग्रीहरु आउने गरेको आरोप पनि छ ।

प्रतिक्रिया