धनगढी, २२ कात्तिक । कैलालीमा संविधानसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ढुक्क भएर निर्वाचनमा सहभागी हुन स्थानीय प्रशासनले मतदाताहरुलाई आह्वान पनि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले निर्वाचनलाई निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आफूहरु सक्षम रहेको बताए ।
कैलालीमा आज (शुक्रबार) सरोकारवालाहरुसँग भएको भेटघाटमा लेखकले निर्वाचनमा आवश्यक पर्ने कर्मचारीको खटनपटन, सामाग्री र सुरक्षा ब्यवस्थाको प्रबन्ध भइसकेको बताए ।
‘केन्द्रबाट आइपुग्नु पर्ने निर्वाचन सामाग्री जिल्लामा आईसकेको छ,’ उनले भने, ‘सम्बन्धित मतदान स्थलमा पठाउने र निर्वाचनमा खटिने कर्मचारीहरुलाई आवश्यक प्रशिक्षण दिने काम भइरहेको छ ।’
उनले कैलाली लगायत केही जिल्ला सुरक्षा संवेदनशील र उच्च जोखिममा राखेको भए पनि कैलालीमा सुरक्षा खतरा नरहेको दाबी गरे ।
छ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ३ लाख ३३ हजार ६ सय ६१ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीकाअनुसार यस पटक निर्वाचनमा २ सय १७ मतदान स्थल र ४ सय ७२ मतदान केन्द्र छन् ।
‘सवारी साधन चलाउनुस्, हामी सुरक्षा दिन्छौं,’ अत्तरियास्थित सशस्त्र प्रहरी बल बडिमालिका गणका प्रहरी उपरीक्षक हर्कबहादुर रावलले भने, ‘प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा पनि छ वटा शसस्त्र प्रहरीको टोली खटिसकेको छ ।’
उनले गाडीमै हतियारसहितका प्रहरी पठाएर भएपनि शान्तिसुरक्षा दिने बताए ।
उजुरीका लागि पैसा नलाग्ने फोन सेवा
यसैबीच निर्वाचनमा हुने विभिन्न गतिबिधिबारे जानकारी दिन बिहीबारदेखि जिल्ला प्रशासन कार्यालयमा रहने गरी टोल फ्री नम्वर जडान भएको छ ।
१६६०९१५२१११ नम्वरको नम्वरमा फोन गर्दा पैसा नलाग्ने प्रमुख जिल्ला अधिकारी लेखकले बताए । उनले कुनै पनि जानकारी सो नम्बर मार्फत दिन सबैलाई आह्वान पनि गरे ।
प्रतिक्रिया