आधिकारिक उम्मेदवारलाई मत दिनुस्

Sushil-Koirala-Chitwanकाठमाडौं, २२ कात्तिक । तिहार लगतै चुनावी प्रचार प्रसारका लागि चितवन आइपुगेका कांग्रेस सभापति सुशील कोइराला घरदैलो कार्यक्रममा ब्यस्त छन् ।

कोइरालाले आज (शुक्रबार) भरतपुर नगरपालिकामा घरदैलो कार्यक्रम गरी मतदातासँग मत मागेका छन् । उनले वडा नम्बर सात, आठ र नौंमा घर दैलो कार्यक्रम गरेको कांग्रेसद्वारा जारी सूचनामा उल्लेख छ ।

यस अघि बिहीबार कोइरालाले मंगलपुर क्षेत्रमा घरदैलो सम्पन्न गरेका थिए । सभपाति कोइराला चितवनको क्षेत्र नम्बर चारमा प्रत्यक्ष तर्फका उम्मेदावर हुन् ।

यसैबीच, सभापति कोइरालाले अघिल्लो संविधान सभा चुनावमा माओवादीले हतियारको भरमा निर्वाचन जितेको बताए । उनले यस पटक हतियारको डर मतदातामा नरहेको उल्लेख गरे ।

‘अघिल्लो चुनावमा माओवादीले हतियारको त्रास देखाएर जितेको हो,’ उनले भने, ‘यस पटक समय बदलिएको छ ।’
उनले माओवादीले डर, धम्की र त्रासका भरमा यस पटक चुनाव जित्न नसक्ने बताए । ‘कांग्रेसको पक्षमा जनलहर देखिएको छ,’ कोइरालाले भने ।

उनले कांग्रेस पहिलो शक्ति हुन नसकेको पीडा जनतामा रहेको बताउँदै मुलुकले नयाँ संविधान पाउन नसकेको बताए । ‘लोकतान्त्रिक संविधानका लागि कांग्रेसको बहुमत अनिवार्य छ,’ कोइरालाले भने, ‘बामपन्थीहरुले दुई दुई पटक नेतृत्व पाउँदा पनि संविधान बनाउन सकेनन् ।’

सभापति कोइरालाले पार्टी भित्रको आन्तरिक विवाद भुलेर आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । ‘कांग्रेसका आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गर्छु,’ सभापति कोइरालाले भने, ‘पार्टी भित्रको मतभेद सबैले तत्कालका लागि भुल्नु पर्छ ।’

त्यसै गरी चितवन क्षेत्र नम्बर एकका कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, दुईका शेषनाथ अधिकारी, तीनका भीमबाहदुर श्रेष्ठ र पाँचकी सबिता बरालले आ–आफ्ना क्षेत्रमा घरदैलो अभियान जारी राखेका छन् ।

प्रतिक्रिया