बन्दसूचीका ३३२ को योग्यतामा प्रश्न

Elecatation Commisationकाठमाडौ, २२ कात्तिक । निर्वाचन आयोगले समानुपातिक चुनाव प्रणालीतर्फ बन्दसूचीमा रहेका ३३२ उम्मेदवारको योग्यतामा प्रश्न उठाएको छ । मतदाता नामावलीमा नाम नभएका, उमेर नपुगेकालगायत उम्मेदवारको उम्मेदवारीका विषयमा आयोगले स्पष्टीकरणका लागि सम्बन्धित दल तथा उम्मेदवारलाई पत्र पठाएको छ ।

आयोगले आफ्नो कार्यतालिकाबमोजिम बिहीबार नियमित पत्रकार भेटघाटका क्रममा बन्दसूचीमा समावेश ३३२ उम्मेदवारको योग्यताको विषयमा जानकारी गराएको हो । आयोगका अनुसार बन्दसूची समावेश उम्मेदवारमध्ये मतदाता नामावलीमा नाम नभएका ८३, उमेर नपुगेका १४८, प्रत्यक्ष र समानुपातिक चुनाव प्रणालीमा दोहोरो नाम समावेश भएका १९, एकै उम्मेदवारलाई बेग्ला–बेग्लै राजनीतिक दलले आ–आफ्नो बन्दसूचीमा सूचीकृत गरेका ८२ जना छन् । यी उम्मेदवारको उम्मेदवारीका विषयमा सम्बन्धित दल तथा उम्मेदवारलाई आ–आफ्नो भनाइ पेस गर्न पत्राचार गरिएको आयोगले जनाएको छ ।
समानुपातिक प्रणालीतर्फको चुनावी कार्यक्रमअनुसार २९ कात्तिकमा उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिने भएको छ । दोस्रो संविधानसभा सदस्य चुनावको प्रयोजनका लागि आयोगद्वारा जारी चुनावी कार्यक्रमसम्बन्धी सूचनाबमोजिम समानुपातिक प्रणालीतर्फ हुने ३३५ स्थानका लागि उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने तयारी भएको हो । यसअघि समानुपातिक चुनावमा भाग लिने राजनीतिक दलले १८ असोजमा उम्मेदवारको बन्दसूची पेस गरेका थिए भने ६ कात्तिकमा बन्दसूची सार्वजनिक गरिएको थियो । ७ कात्तिकमा बन्दसूचीमा समावेश उम्मेदवारको योग्यताका सम्बन्धमा दाबी विरोध गर्न निवेदन दिने र १४ कात्तिकमा निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम सकिइसकेको आयोगले उल्लेख गरेको छ । उम्मेदवारको योग्यताका विषयमा सात जनाविरुद्ध दाबी विरोधको निवेदन परेकामा विस्तृत छानबिनका आधारमा एमाओवादीबाट समानुपातिकतर्फका बालकृष्ण ढुंगेल र उषा साह (फकिर) को उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ ।
आगामी ४ मंसिरमा हुने चुनावमा प्रत्यक्षतर्फ १ सय ३० राजनीतिक दल र स्वतन्त्र गरी ६ हजार १ सय २३ उम्मेदवारले तथा समानुपातिकतर्फ १ सय २४ दलका ११ हजार ३ जना गरी १७ हजार १ सय २६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
मतपत्र जिल्ला–जिल्लामा
काठमाडौं : निर्वाचन आयुक्त इला शर्माले ४ मंसिरको संविधानसभा चुनावका लागि आवश्यक मतपत्र सम्बन्धित जिल्लामा पुर्‍याएको बताएकी छन् ।
आयुक्त शर्माले बिहीबार राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएकी हुन् । निर्वाचन आयोगले समानुपातिकका लागि एक करोड ४९ लाख ५२ हजार र सोही संख्यामा प्रत्यक्षका लागि मतपत्र छपाएको छ । प्रत्यक्षका लागि हल्का निलो र समानुपातिकको हल्का रातो रङ गरी दुई किसिमका मतपत्र छन् । २२ प्रतिशत बढी मतपत्र छापिएको शर्माले बताइन् । चुनावका लागि आवश्यक अन्य सामग्री केही दिनभित्र सबै जिल्लामा पुग्ने उनले उल्लेख गरिन् ।
प्रत्यक्षमा राजनीतिक दल तथा स्वतन्त्र गरी ६ हजार १ सय २८ उम्मेदवार तथा समानुपातिकमा ११ हजार ३ जना उम्मेदवार चुनावी मैदानमा छन् । समानुपातिकमा एक सय २२ दलले भाग लिएका कारण यसपटकको चुनावमा सो प्रणालीको मतपत्र ठूलो आकारको छ ।
शर्माले अस्थायी मतदाता परिचयपत्र छपाइको काम अन्तिम चरणमा पुगेको जानकारीसमेत दिइन् । परिचयपत्र केही दिनभित्रै वितरण गरिने उनले बताइन् ।
आयुक्त शर्माका अनुसार आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनबारे गम्भीरतापूर्वक अनुगमन गरिरहेको र बिहीबारदेखि आचारसंहिताबारे उच्चस्तरीय अनुगमन टोलीले समेत काम थालेको छ । अनुगमन टोलीमा सरकारका सचिव र सहसचिव तहका कर्मचारी छन् । चुनाव पर्यवेक्षकलाई निर्वाध रूपमा पर्यवेक्षण गर्न सुरक्षाको प्रत्याभूति मिलाइएको पनि उनले बताइन् । सो परिषद्ले चुनाव पर्यवेक्षणका लागि ३ हजार पर्यवेक्षकलाई ६० जिल्लामा खटाउन आयोगबाट अनुमति लिएको छ । परिषद्का अध्यक्ष सुदीप पाठकले कुनै राजनीतिवाद र सिद्धान्तका नाममा चुनावलाई अवरोध गर्न नहुने भन्दै चुनावको मुखमा बन्द घोषणा गर्ने अधिकार कसैलाई नहुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया