निर्वाचन पछि मुलुकले निकास पाउँछ

Rambaran Yadavकाठमाडौं, १८ कात्तिक । राष्ट्रपति डा.रामवरण यादवले प्रत्येक नेपालीले आफ्नो दायित्व पूरा गर्दै आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचन सम्पन्न गरी मुलुकलाई निकास दिन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल संवत् ११३४ का अवसरमा आज (सोमबार) दिईएको शुभकामना सन्देशमा डा.यादवले मुलुकको स्वतन्त्र इतिहासप्रति गौरवान्वित रही राष्ट्रिय एकता र अस्मिताको संरक्षण गर्नु हरेक नेपालीको कर्तव्य रहेको बताएका छन् ।

उनले सबै नेपालीमा संहिष्णुता, सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्नाका साथै आपसी समझदारी र भाइचाराको भावना बनाउनेमा पनि आशा लिएको जनाएका छन् ।

अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वर्तमान समयमा नेपालमा राजनीतिक स्थायित्व कायम गरी सबैको भावना र आवश्यकतालाई सम्बोधन गर्ने संविधान निर्माण गर्नु अपरिहार्य भएको बताए ।

उनले निर्धारित संविधानसभा निर्वाचनलाई सफल बनाउनु अहिले आफूहरुको एकमात्र उद्देश्य बनेको बताए । स्वतन्त्र, स्वच्छ र निष्पक्ष रुपमा हुने निर्वाचनमा आफ्नो संविधानप्रदत्त मताधिकारको प्रयोग गरी निर्वाचनलाई सफल बनाउन आग्रह गरे ।

यसैबीच, नेपाल सम्वत् ११३४ आज (सोमबार)देखि शुभारम्भ भएको छ । नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वा: हुन् । राष्ट्र र राष्ट्रवासीप्रतिको जिम्मेवारी बोध गरी जनतालाई ऋणमोचन गरी नयाँ सम्वत् चलाएको कदरस्वरप नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता प्रदान गरेको छ ।
शङ्खधरले ईस्वी सम्वत् ८८० यो सम्वत् चलाएको इतिहासकार स्व. भुवनलाल प्रधानले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । सरकारले २०५८ साल मङ्सिर २ गते शङ्खधरलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

प्रतिक्रिया