‘कम्युनिष्टहरु प्रजातन्त्रको छहारीमा आउँछन्’

Sushil-Koirala

सुशील कोइराला

नेपालगञ्ज, १७ कात्तिक । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लोकतान्त्रिक संविधान नआउँदासम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने दोहर्‍याएका छन् ।

गृह जिल्ला बाँकेको नेपालगञ्ज नगरपालिका–१ मा आज (आइतबार) आयोजित चुनावी कार्यक्रममा सभापति कोइरालाले लोकतान्त्रिक संविधान ल्याउन लोकतान्त्रिक पक्षधर शक्तिकै जित अनिर्वाय रहेको बताए । ‘लोकतान्त्रिक पक्षधर शक्तिलाई मत दिनु पर्छ,’ उनले भने, ‘कांग्रेसको दुई तिहाई बहुमत आएमा मात्रै लोकतान्त्रिक नयाँ संविधान बन्छ ।’

पहिचानसहितको संघीय लोकतान्त्रिक संविधान ल्याउन कांग्रेस पछाडि नहट्ने प्रतिवद्धता पनि उनले गरे ।

सभापति कोइरालाले पहिलो संविधानसभामा संरचनागत दृष्टिले कांग्रेसको नेतृत्वदायी उपस्थिति नहुँदा संविधान बन्न नसकेको बताए । ‘सबैभन्दा ठूलो दलका रुपमा आएको एकीकृत माओवादी विगतमा संविधान निर्माणका क्रममा गैरजिम्मेवार देखियो,’ उनले भने ।

‘कुनैपनि जात, जाति, धर्म, संस्कृति र सम्प्रदायको पहिचान लोकतन्त्रमा मात्र सम्भव छ,’ कोइरालाले भने, ‘एकदलीय शासन व्यवस्थामा विश्वास गर्नेले पहिचानको कुरा गर्नु भ्रम दिनु मात्र हो ।’

लोकतन्त्रका लागि संघर्ष गरेकै पार्टी र नेताहरु नै पहिचानका लागि पनि पुन: संघर्ष गर्ने सभापति कोइरालाले बताए । ‘कांग्रेस स्थापनादेखि नै लोकतन्त्र र हरेक वर्गको स्वतन्त्र अस्तित्वसहित पहिचानका लागि लड्दै आएको पार्टी हो,’ उनले भने ।

सभापति कोइरालाले देश र जनताको पक्षमा आवाज उठाउन कहिल्यै पछि नहट्ने कांग्रेसले जहिल्यै पनि राष्ट्रियता, लोकतन्त्र र समाजवादको वकालत गरेको बताए । उनले गरिब, मजदुरका समस्यालाई समाधान गर्न जेल जानसमेत पछि नहटेको बताए ।

कोइरालाले विश्वभर प्रजातान्त्रिक अभ्यास लोकप्रिय भैरहेको बताए । ‘अब चाँडै नै चीन लगायतका देशबाट कम्युनिज्म पतन भएर जाने छ,’ उनले भने, ‘सर्वसत्तावाद र हैकम लाद्ने सपना बुन्ने कम्युनिष्टहरु अब प्रजातन्त्रको छहारीमा आउने छन ।’

उनले कांग्रेस नेतृत्वको सरकारले नै मुलुकमा विकासको बीउ रोपेको बताए । मुलुकको विकास कांग्रेसको पहिलो प्रतिवद्धता रहेको भन्दै सभापति कोइरालाले विकासका बाधक भ्रष्टाचारीहरुका कारण मुलुकमा विकासले जरा गाड्न नसकेको बताए ।

त्यसै गरी सभापति कोइरालाले कतिपय दलका नेताहरुमा चुनाव हार्ने डरले निर्वाचन बिथोल्ने रणनीतिमा लागेको बताए । उनले सबै षड्यन्त्रलाई चिरेर ढुक्कसँग मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया