कांग्रेस आक्रोशित

Treee-NC

रुख

काठमाडौं, १५ कात्तिक । चुनावी अभियानका क्रममा आफ्ना उम्मेदवार, नेता तथा कार्यकर्तामाथि शृंखलाबद्ध आक्रमण भएकोमा नेपाली कांग्रेस आक्रोश व्यक्त गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । एमाओवादीका कार्यकर्ता र अज्ञात समूहले आफ्ना नेता र कार्यकर्तामाथि पटक–पटक आक्रमण गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले आक्रमणको भत्र्सना गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेताहरू थप असुरक्षित हुँदै गएकोमा चिन्ता व्यक्त गरियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उपसभापति रामचन्द्र पौडेल बसेको घरमा पेट्रोल बम प्रहार गरिएको तथा घटनास्थलमा चारवटा पेट्रोल बम फेला परेको छ । साथै, दाङ–२ की उम्मेदवार सुशीला चौधरीको सवारीसाधनमा आगजनी गरिएको घटनाप्रति खेद व्यक्त गरियो । कांग्रेस कार्यकर्ता युवराज भुसालको घरमा राखिएको गाडीमाथि आगजनी गरिएको थियो । त्यस्तै, गोर्खा–१ को बतासेमा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, सुरेन्द्र पाण्डे र पार्टी मुख्यसचिव चीनकाजी श्रेष्ठ चढेको गाडीमा एमाओवादीले चार ठाउँमा ढुंगामुढा गरी सांघातिक आक्रमण गरेको घटनाप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । ‘यो माओवादीको पराजित मानसिकता हो,’ पत्रकार सम्मेलनमा मीनेन्द्र रिजालले भने, ‘एमाओवादीले चुनाव हार्ने त्रासमा अरूलाई आक्रमणको निशाना बनाउँदै आएको छ, यस्तो कार्य रोक्न सरकारसँग माग गर्दछौँ ।’
गोर्खाको सो घटनाबाट आफूलाई देश/विदेशमा शान्तिप्रेमी र लोकतन्त्रवादी भनी प्रस्तुत गर्ने एमाओवादी नेता डा. बाबुराम भट्टराई साँचो अर्थमा अझै पनि हिंसावादी, सर्वसत्तावादी र अधिनायकवादी भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचनको यस अवधिमा राजनीतिकर्मी, व्यवसायी, पत्रकारलगायतलाई थर्काउने, धम्क्याउने र आक्रमण गर्ने काम तत्काल बन्द गर्न पनि कांग्रेसले चेतावनी दिएको छ । चुनावको वातावरणलाई सुरक्षित बनाउन पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यसमेत रहेका रिजालले नेकपा–माओवादीलाई ठूलो प्रयत्न गर्दागर्दै पनि चुनावी अभियानमा सहभागी गराउन नसकिए पनि निर्वाचनमा कुनै बाधा–व्यवधान नगर्न आग्रह गरेका छन् ।
यसैबीच, बुधबार नुवाकोट–१ कुमरीको कांग्रेसको कार्यक्रमलाई पनि एमाओवादीले बिथोल्ने प्रयास गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले सम्बोधन गर्ने सभास्थल जाने बाटोका विभिन्न स्थानमा खाल्डा पारेर अवरोध पुर्‍याउन खोजेको आरोप कांग्रेसले लगाएको छ । सोही क्षेत्रमा उम्मेदवारसहितको प्रचार टोलीमाथि ढुंगामुढा गरेको आरोप पनि कांग्रेसको छ । त्यस्तै, धनकुटामा बुधबार राति १ बजे नगरपालिका–७ संगम टोलमा उम्मेदवार आनन्दसन्तोषी राईको गाडीमा आगजनी भएको जनाइएको छ ।

प्रतिक्रिया