तनहुँ / गोरखा आक्रमण एमाओवादीबाट: कांग्रेस

Minendra-Rijalकाठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले तनहुँ र गोरखामा भएका सांघातिक आक्रमणको दोषी एकीकृत माओवादीलाई लगाएको छ ।

प्रचार प्रसार समितिका संयोजक मिनेन्द्र रिजालले पार्टी कार्यालय सानेपामा आज (बिहीबार) पत्रकार सम्मेलन गरेर एमाओवादीका कार्यकर्ताले कांग्रेसका नेताहरु माथि आक्रमण गरेको दाबी गरेका हुन् ।

‘तनहुँमा उपसभापति रामचन्द्र पौडेललाई लक्षित गरी एमाओवादीले पेट्रोल बम विस्फोट गराएको पाएका छौं,’ उनले भने ।

संयोजक रिजालले गोरखा क्षेत्र नम्बर १ मा बुधबार भएको आक्रमण पनि एमाओवादीका कार्यकर्ताले गरेको बताए ।

‘गोरखामा बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा कांग्रेसलाई आक्रमण भएको छ,’ उनले भने, ‘एमाओवादीले आचार संहिता उलंघन गरेर चुनाव विथोल्ने षड्यन्त्र गरेको छ ।’

मुलुकका अन्य स्थानहरुमा पनि एमाओवादीका कार्यकर्ताले कांग्रेसका प्रचार सामाग्री लुट्ने, सांघातिक आक्रमण गर्ने लगायतका कार्य गरेको उजुरी आईरहेको संयोजक रिजालले बताए ।

उनले सरकारसँग शान्ति सुरक्षाको माग गर्दै एमाओवादीलाई आचार संहिता पालनामा ध्यान दिन सुझाव दिए ।

कांग्रेसले एकीकृत माओवादीलाई आफ्नो व्यवहारमा सुधार ल्याउन आग्रह गरेको छ । उसले आगामी चुनाव शान्ति पूर्ण रुपमा सम्पन्न गर्ने दायित्व सबैको रहेको जनाएको छ ।

प्रतिक्रिया