ठूला मिडियाप्रति अध्यक्ष दाहालको असन्तुष्टि

Puspakamal-Dahalकाँस्की, १४ कात्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू बिरुद्ध भ्रम फैलाएको आरोप लगाउँदै ठूला मिडियाप्रति असन्तुष्टि जनाएका छन् ।

काँस्कीमा आज (बिहीबार) अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एकीकृत माओवादी बिरुद्ध ठूला मिडियाहरुले भ्रमहरु फैलाउन खोजेको बताए । उनले मिडियाको भ्रमलाई चिर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘केही ठूला भनाउँदा मिडियाहरुले एमाओवादी विरुद्ध आक्रामक ढङ्गले प्रस्तुत भएका छन्,’ उनले भने, ‘ठूला मिडियाले भ्रम फैलाउन खोजेकाले त्यस्ता भ्रमलाई चिर्दै जानु पर्छ ।’

उनले विभिन्न पक्षको अबरोध र भ्रमहरुलाई चिर्दै चुनावमा होमिनुको विकल्प नरहेको पनि बताए ।

अध्यक्ष दाहालले मंसिर–४ को चुनावलाई महाभारतको संज्ञा दिए । उनले महाभारतको युद्ध जित्नै पर्ने बाध्यता रहेको उल्लेख गरे ।

‘संविधानसभाको अन्तिम चुनाव भएकाले यसलाई महाभारतको युद्धका रुपमा लिनु पर्छ,’ उनले भने, ‘एकपटक प्रतिक्रियावादीको षड्यन्त्र चकनाचुर पार्न सिंहजस्तै गर्जनका साथ अगाडि बढ्नु पर्छ ।’

उनले चुनाव हुन नदिन विभिन्न तत्वले षड्यन्त्र गरिरहेको आरोप पनि लगाए । ‘संयमित भएर चुनावी वातावरण बनाउन सहयोग गर्नु पर्छ,’ अध्यक्ष दाहालले भने ।

प्रतिक्रिया