काठमाडौं : विभिन्न दलले निर्वाचन आयोगमा समानुपातिकका तर्फबाट बुझाएको उम्मेदवारको बन्द सूचीमा ७ जनाविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार ती मध्ये एमाओवादीका ५ जना र अन्य दलका दुई उम्मेदवारविरुद्धमा उजुरी परेको छ ।
बालकृष्ण ढुंगेलविरुद्ध रामकुमारी झाँक्री, सीता थापामगरविरुद्ध लैलाकुमारी गहतराज, हरिराम श्रीपाइलीविरुद्ध संगीता तामाङ, विन्दालक्ष्मी शाहविरुद्ध हिराचन्द्र चौलागार्इं, उषा शाह फकिरविरुद्धमा महम्मद जाकिर हुसेनलगायत विरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए । थापामगर समाजवादी जनता पार्टी र शाह शान्ति एकता पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका थिए । ती बाहेकका अन्य उम्मेदवार भने एमाओवादीका तर्फबाट बन्द सूचीमा परेका हुन् । उनीहरू सबैको योग्यताका विरुद्धमा परेको उजुरी बारे बिहीबारबाट छानबिन सुरु गरिने प्रवक्ता राईले जानकारी दिए ।
उजुरी परेका उम्मेदवारका बारेमा छानबिन गरी आयोगले समानुपातिकतर्फबाट बन्दसूचीमा परेका उम्मेदवारको अन्तिम नामावली कात्तिक २० गते सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया