कसले चलायो ब्यारेकमा गोली ?

Nepal-Army-Logoकाठमाडौं, १४ कातिक । नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीमा कार्यरत एक सिपाहीको शंकास्पद मृत्यु भएको छ । बुधबार दिउँसो डिउटीमा रहेका बेला सिपाही भीम कट्वालको शंकास्पद मृत्यु भएको हो । पूर्वी पृतनाले आत्महत्या गरेको बताए पनि उनको मृत्युलाई आत्महत्या मान्न नसकिने अबस्थामा रहेको छ । बटुक दल गणमा कार्यरत कटुवालले ड्युटीमा रहेका बेला आफूले बोकेको इन्सास राइफलबाट आफैँलाई गोली प्रहार गरी मृत्यु भएको पूर्वी पृतनाले बताए पनि ३ दशमलव १४ फिट लामो इन्सास राइफलबाट आफूलाई गोली प्रहार गरेको मान्न नसकिने सुरक्षाविद् बताउँछन् ।

सेनाको मुख्यालय क्षेत्रभित्रको पोष्टमा दुई जना ड्युटीमा खटिने गरेकामा अर्का जनालाई सुवेदारले एकैछिन बोलाएको छ जानु भनेर साथीलाई पठाएपछि उनले गोली प्रहार गरी आत्महत्या गरेको पृतनाले जनाएको छ । अहिलेसम्म आत्महत्याको कारण खुल्न सकेको छैन । आत्महत्याबारे अनुसन्धान थालिएको सेनाको पृतना मुख्यालयले जनाएको छ । उनले दुई पटकसम्म सेकेन्ड लेफ्टिनेन्टमा प्रतिस्पर्धा गरेका थिए । तर, उत्तीर्ण हुन नसकेका कारण आत्महत्या गरेको आशंका पृतनाले गरेको छ । २२ वर्षीय कट्वालले इन्सास राइफलले कोखा र टाउकोमा गोली प्रहार गरी आत्माहत्या गरेको दाबी पृतनाको छ ।

प्रतिक्रिया