बसमा आगलागी, ४४ जनाको मृत्यु

India-Aagoहैदरावाद : भारतको आन्ध्र प्रदेश राज्यमा बुधबार बिहान एउटा यात्रुबाहक बसमा आगो लाग्दा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । हैदराबादबाट १ सय ४० किलोमिटर पर रहेको महबुब नगर जिल्लाको कोथाकोटा नजिकै सो निजी भोल्भो बसमा आगलागी भएको थियो ।
सो बस हैदराबादबाट बेङलोरतर्फ जाँदै थियो । बिहान करिब ५ बजेको समयमा सो बसले सडकमा राखिएको डिभाइडरलाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । आगोले सबैको शरीर पूर्णरूपमा जलेकाले सनाखत गर्नसमेत कठिन भएको बताइएको छ । घटनामा मृत्यु हुने मध्ये पाँच जना सफ्टवेयर इन्जिनियर पनि रहेको बताइएको छ । आगो लागेको १० मिनेटमा नै बस पूर्णरूपमा जलेको थियो । प्रहरीले दिएको प्रारम्भिक जानकारीअनुसार डिजेल ट्यांकीमा विष्फोट भएपछि आगो लाग्न सुरु गरेको थियो ।
एउटा कारलाई ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भएर डिभाइडरमा ठोकिएपछि सो घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसका चालक, उनका सहयोगीसहित सात जना भने भागेर बाँच्न सफल भएका छन् । अन्य सबै यात्रुहरू घटना हुँदा निदाइरहेका कारण पनि भाग्न असफल भएको प्रहरीले जनाएको छ । मृत्यु हुने अधिकांश यात्रुहरू दीपावली मनाउन आन्ध्र प्रदेशबाट घरतर्फ जाँदै थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया