फागोहरु पक्राउ

hatkadiइलाम : एकीकृत नेकपा (माओवादी)को चुनावी अभियानमा प्रचार सामग्री र झन्डा च्यात्ने संघीय लिम्बूवान राज्य परिषद्का दुई जना कार्यकर्तालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । एमाओवादी २ नं क्षेत्रका उम्मेदवार रमेशकुमार लिङदेनको चुनावी प्रचार सामग्री च्यात्ने चुलाचुली–१ का विक्रम फागो र पप्पु फागोलाई प्रहरीले पक्रेर उनीहरू विरूद्ध प्रहरीले जिल्ला प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेको छ ।
यस्तै फाकफोक गाविस कार्यालयबाट खाम्वाङमा निर्वाचन शिक्षा सामग्री लैजाादै गरेको अवस्थामा सामग्री लुट्ने चार जनाको समूहमध्ये एकतप्पाका शेरबहादुर लिम्बू पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले खाम्वाङ माविका शिक्षक लोकनाथ भट्टराईको एकथान मोबाइलसमेत बरामद गरेको छ । फरार रहेका अन्यलाई पनि प्रहरीले खोजी कार्य व्यापक बनाएको छ । आमचोक–८ स्थित विजयटार निमाविका प्रअ रूपनारायण अधिकारीलाई पनि प्रहरीले उम्मेदवार आक्रमण आरोपमा पक्राउ गरेको छ । जिल्ला शिक्षा कार्यालयले शिक्षकलाई राजनीतिक कार्यकर्ताको रूपमा नलाग्न निर्देशन दिएपनि त्यसको बेवास्ता गर्दै अराजक क्रियाकलापमा संलग्न रहेको पुष्टि भए जागिर जानेसम्म हुन सक्ने जिशिअ दिलनाथ पुरीले बताए ।
यसैबीच प्रहरीले एकसाताकाबीचमा जिल्लामा १० जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा दायर गरिसकेको छ । इलामको महमाईमा कात्तिक ७ गते मतदाता सामग्री जलाउने नेकपा–माओवादी महमाईका दीपक सेञ्चुरी, चुलाचुलीका सुकबहादुर लावती र न्यूसन राई, त्यस्तै सुवासचन्द्र नेम्वाङको चुनावी सभालाई अवरोध गर्ने मञ्च सम्बद्धका कार्यकर्ता गोविन्दसिंह लिम्बू र भूपेन्द्र लिम्बूलाई एकतप्पाबाट, नेकपा–माओवादी गजुरमुखीका इञ्चार्ज डकेन्द्र लिम्बूलाई मङ्गलबारेबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए । चुनाव विरोधी क्रियाकलाप गर्ने जोसुकैलाई पनि कारबाही गरिने उनले बताए ।

प्रतिक्रिया