एमाओवादीको संघीयताले देश टुक्रन्छ : नेपाल

Madhav-Nepalकाठमाडौं, १३ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले भन्दै आएको संघीयताले देश टुक्रउने बताएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर एक अन्तर्गत कोटेश्वरमा आज (बुधबार) आयोजित चुनावी कार्यक्रममा नेता नेपालले सबैलाई समेट्ने गरेर संघीय राज्य बनाउनु पर्ने बताए । उनले एमाओवादीका मीठा र गलिया कुरामा नझुक्किन पनि आग्रह गरेका छन् ।

‘एमाओवादीको संघीयताले नेपालीहरुलाई आपसमा लडाउछ,’ उनले भने, ‘आदिवासी जनजाति, मधेसी समूदाय, उत्पीडित, अल्पसंख्यक, पिछडिएको क्षेत्रलगायत सबैलाई समेट्ने बहुपहिचानसहितको संघीयता मुलुकका लागि आवश्यक छ ।’

उनले एमाओवादीलाई अझै पनि ठूलो पार्टी बन्ने धङधङ्गी रहेको आरोप लगाए । ‘ठूलो पार्टी बने पनि युद्धको धङधङ्गी बोकेको एमाओवादीले शिविर कायम राखेर लडाकूको नाममा अर्बौं भ्रष्ट्राचार गरेको छ,’ उनले भने, ‘सबै जातजातिको साझा फूलबारी रहेको मुलुकका जनतालाई लडाएर एमाओवादीले देशै टुक्राउन खोज्यो ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपले मुलुकमा तानाशाह जन्माउने बताएका छन् ।

नेता नेपालले कार्यकारी राष्ट्रपति उचित नहुने बताए । ‘राष्ट्रपति कार्यकारी हुने प्रणालीले तानाशाह जन्माउन सक्छ,’ उनले भने, ‘नियन्त्रण र सन्तुलन कायम हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नेपालको विविधताको प्रतिनिधित्व गर्ने राष्ट्रपतिसहितको शासकीय स्वरुप उपयुक्त हुन्छ ।’

प्रतिक्रिया