आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न सरकारको निर्देशन

काठमाडौ, १३ कात्तिक । आगामी तिहार, छठ पर्व र आसन्न संविधानसभाको निर्वाचनसम्म आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाले सरकारी संस्थानका प्रमुखलाई निर्देशन दिएका छन् । सचिव बाँस्कोटाले मंगलबार सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलहरूका अनुगमनका क्रममा आपूर्ति व्यवस्थालाई प्रभावकारी तुल्याउन निर्देशन दिँदै सरकारको दायित्व अनुसारको काम पूरा गर्नका लागि हरेक समय तत्पर रहनुपर्नेमा जोड दिएको हो ।

बाँस्कोटाको नेतृत्वमा खटिएको अनुगमन टोलीले सूर्यविनायक, कोटेश्वर, जावलाखेल, बल्खु, कालीमाटी, टेकु र सिंहदरबारमा खुलेको सुपथ मूल्यका पसलहरूका निरीक्षण गरेको थियो । गत असोज १ गतेदेखि खुलेका सुपथ मूल्यका पसलबाट हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनले करिब ६ करोड, नेपाल खाद्य संस्थानले दुई करोडको, नेसनल ट्रेडिङ लिमिटेडले एक करोड ३५ लाखको र दुग्ध विकास संस्थानले ४० लाखबराबरको सामान बिक्री गरेको सो अवसरमा जानकारी गराइएको थियो । निरीक्षणका क्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव रेग्मीले आम उपभोक्ताको हितमा सुपथ मूल्यका पसलहरू सार्वजनिक बिदामा समेत खुल्ने प्रतिबद्धता व्यक्त गरे । हाल साल्ट ट्रेडिङसाग २० हजार मेट्रिक टन चिनी र ८० हजार टन नून मौज्दात रहेकाले आपूर्ति व्यवस्थामा कुनै बाधा नपर्ने महाप्रबन्धक उर्मिला श्रेष्ठले जानकारी गराए । हाल उक्त संस्थानसाग एक लाख ६४ हजार क्विन्टल चामल मौज्दात रहेकाले आपूर्ति व्यवस्थापन कुनै असर नपर्ने गरी महाप्रबन्धक डा शिवहरि श्रेष्ठले अनुगमन टोलीलाई बताए ।
यसैगरी नेसनल ट्ेरडिङ लिमिटेडले टेकुमा खोलिएको पसललाई तिहार र छठ पर्वपछि पनि निरन्तरता दिइने महाप्रबन्धक सत्यनारायण मेहताले बताए । अनुगमनका क्रममा जोख्ने तराजुमा एक सय ग्रामसम्मको चुम्बक राखेको, बेसार र मसलामा पिठो लगायतको वस्तु मिसाएको, म्याद नाघेका वस्तु बिक्री गरेको, महागो चामलमा सस्तो चामल मिसाएको, नक्कली घ्यू बेचेको अनुगमनको क्रममा पाइएको वाणिज्य विभागका महानिर्देशक नारायण
विडारीले बताए ।

प्रतिक्रिया