छोरीलाई भोट माग्दै प्रचण्ड

Renu-Dahalकाठमाडौं, १३ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी पुत्री रेणुलाई जिताउन जनतासँग भोट माग्नमा व्यस्त देखिए ।

एमाओवादीतर्फबाट आगामी संविधानसभामा प्रत्यक्षतर्फ प्रचण्डपुत्री रेणु दाहाल यसपटक चुनावी मैदानमा छिन् । परिवार मोहकै कारण प्रचण्डपुत्रीलाई मत माग्न काठमाडौं–१ मा पुगे । केही समययता प्रचण्डलाई पनि नातावाद, कृपावादमा परेको आरोप लाग्ने गरेको छ । अन्य उम्मेदवारलाई थोरै निर्वाचन खर्च दिएको र परिवार निकटलाई बढी रकम उपलब्ध गराएको भन्ने आरोप पनि प्रचण्डलाई लागेको छ । नयाँबानेश्वरमा मंगलबार आयोजित चुनावी कार्यक्रममा अध्यक्ष दाहालले एक घन्टा भन्दा बढी समय बिताएर पुत्री रेणु दाहालका लागि भोट मागे ।
कार्यक्रममा प्रचण्डले काठमाडौं–१ मा आºनो पार्टीले चुनाव जितिसकेको दाबी गर्दै मतदाता र उम्मेदवारलाई अग्रिम शुभकामना दिनसमेत पछि परेनन् । तर, एमाओवादीलाई काठमाडौं–१ मा जित हासिल गर्न कठिन पर्ने चर्चा राजनीतिक वृत्तमा छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा वर्तमान कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जित हासिल गरेका थिए ।
यसपटक पनि प्रकाशमान सिंह सो क्षेत्रका उम्मेदवार हुन् । सिंहलाई पाखा लगाएर जित हासिल गर्न सबै उम्मेदवारलाई कठिन रहेको एक राजनीतिक विश्लेषकको दाबी छ । मंगलबार आफू उम्मेदवार भएको काठमाडौं निर्वाचन क्षेत्र–१० स्थित कीर्तिपुरमा बिहानैदेखि लगभग एक घन्टा घरदैलो अभियान भ्याएलगत्तै प्रचण्ड आºनी पुत्रीको चुनावी अभियानमा सहभागी भएका थिए ।
चुनावी कार्यक्रममा प्रचण्डले देशैभरि एमाओवादीको लहर आएकाले काठमाडौं–१ मा पनि जित्ने दाबी गरे । दाहालले मंगलबार बिहान कीर्तिपुरमा घरदैलो कार्यक्रम मात्रै गरे । दाहालको घरदैलो कार्यक्रम चलिरहेका बेला नेवारी भाषाको दैनिक पत्रिका झिनो स्वनिग: लाई एमाओवादी कार्यकर्ताले कब्जामा लिएर च्यातेपछि केहीबेर तनाव सिर्जना भएको थियो ।
नेवार समुदायको बाहुल्य रहेको सो क्षेत्रमा नेवारी भाषाकै पत्रिका च्यातेपछि केही स्थानीय बासिन्दा आक्रामक बनेका थिए । बाक्लो सुरक्षाका कारण कुनै अप्रिय घटना भएन । कीर्तिपुरको घरदैलोपश्चात् बिहान ८:३० बजे प्रचण्ड बानेश्वर पुगेका थिए । आºनो सम्बोधनका दौरान एमाले र कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया