संशोधन गरेर माओवादीलाई ल्याउन सकिन्छ

sher-bd-deuba-ji2 कात्तिक । कांग्रेसका नेता शेरबहादुर देउवाले निर्वाचन पछाडि संविधान संशोधन गरेर नेकपा–माओवादीलाई संविधानसभामा ल्याउन बहस चलाउन आफूहरु तयार रहेको बताएका छन् ।

गृह जिल्ला डडेलधुरामा आज (सोमबार) सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता देउवाले नेकपा–माओवादीसहितका दललाई संविधानसभाको निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरेपनि सफल हुन नसकेको बताए ।

उनले निर्वाचनपछि संविधान संशोधन गरेर समेत नेकपा माओवादीलाई संविधानसभामा ल्याउने विकल्पमा छलफल गर्न सकिने बताए । उनले संविधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नु पर्ने बताए ।

‘निर्वाचन प्रक्रियामा भाग नलिएका राजनीतिक दलहरुपनि एउटा शक्ति हो,’ उनले भने, ‘उहाँहरुलाई विश्वास दिलाउन चाहन्छु । हामी उहाँसँग सर–सल्लाह गरेर नै संविधान बनाउने छौँ ।’

नेता देउवा डडेलधुरामा कांग्रेसका तर्फबाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।

उनले अघिल्लो निर्वाचनको तुलनामा गाउँमा एकीकृत माओवादीको डरत्रास केही घटेको बताए । ‘एमाओवादीको डर त्रसा पूर्णरुपमा हट्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया