प्रथम विश्व युवा सम्मेलन काठमाडौंमा

काठमाडौ, ११ कात्तिक । युवा वर्गमा रहेको क्षमतालाई एकीकृत गरी राष्ट्र विकासमा लगाउने उद्देश्यले आइतवारदेखि काठमाडौंमा प्रथम विश्व युवा सम्मेलन सुरु भएको छ । मातृभूमिका लागि युवा अभियान नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका प्रतिनिधि सहभागिता रहेको छ ।

भोलिसम्म चल्ने उक्त सम्मेलनले देश तथा विदेशमा रहेका युवाका विविध समस्या र अवसरबारे छलफल गरी भावी रणनीति बनाउने छ । सम्मेलनको नेकपा (एमाले) का युवा नेता योगेश भट्टराई, एमाओवादीका युवा नेता हिमाल शर्मा र अभियानका अध्यक्ष सुनिल खड्काले संयुक्त रुपमा उद्घाटन गरे । सो अवसरमा एमाले नेता भट्टराईले युवामा भएको सीप र क्षमतालाई एकीकृत गरी मातृभूमिमा समर्पण गर्न तथा विश्वमा नेपाली पहिचान बोकेका नेपालीहरुमा मातृभूमिप्रति दायित्वबोध गराउन सम्मेलन उपयोगी हुने बताए ।
एमाओवादी नेता हिमाल शर्माले अहिलेको सङ्क्रमणकालीन राजनीति र अन्योलपूर्ण आर्थिक अवस्थाले गर्दा मुलुकका ऊर्जावान युवा विदेश पलायन हुन बाध्य भइरहेको भन्दै आम युवामा सोच्ने शैलीमा परिवर्तन ल्याउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । पर्यटनविद् कर्ण शाक्यले जैविक र भौगोलिक विविधताले भरिएको मुलुकमा स्रोत र साधनको सही सदुपयोग हुन नसक्दा नेपाल कमजोर बन्दै गएको र युवा शक्ति विदेश पलायन भइरहेकोमा चिन्ता ब्यक्त गरे । अभियानका अध्यक्ष सुनिल खड्काले देश तथा विदेशमा रहेका युवाका सीप र क्षमतालाई एकीकृत गरी मातृभूमिमा रहेको प्रचुर सम्भावनालाई सामाजिक एवम् आर्थिक रूपान्तरणमा परिचालन गर्ने रणनीति तय गर्न आयोजना गरिएको बताए । कार्यक्रममा चर्चित कलाकार कुन्ती मोक्तान, शिशिर योगी, रामकृष्ण ढकाल, धीरज राई र मनोज गजुरेलले आ आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन गराएका थिए ।

प्रतिक्रिया