एमाओवादीमा के.सदस्य यादव कारबाहीमा

Srawan-yadav Jagकाठमाडौं, १० कात्तिक । एकीकृत माओवादीले पार्टी अनुशासन र पद्धतिको उल्लंघन गरेको भन्दै आफ्ना केन्द्रीय सदस्य जगकुमार बरबरीया यादवलाई कारबाही गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले आज (आइतबार) विज्ञप्ति जारी गरेर यादवलाई पार्टीबाट निष्काषन गरेका हुन् । यादवलाई एमाओवादीले साधारण सदस्य समेत नरहने गरेर कारबाही गरेको हो ।
एमाले छाडेर भर्खरै एमाओवादीमा प्रवेश गरेका रामचन्द्र झालाई धनुषा क्षेत्रनम्बर १ बाट प्रत्यक्षमा उम्मेदवारी बनाए पछि यादवले बिरोधमा बागी उम्मेदवारी दिएका थिए । यादवको बागी उम्मेदवारीबाट रुष्ट दाहालले आज कारबाही गरेका हुन् ।
‘समस्याको सकारात्मक समाधान गर्न पार्टीको तर्फबाट यादवलाई केन्द्रीय कार्यालमा बोलाएर गम्भीर छलफल गरी समयमै मनोनयन फिर्ता गर्ने सहमति समेत भएको थियो,’ विज्ञप्तिमा दाहालले भनेका छन्, ‘आफ्नो व्यक्तिगत र मनोगत आकांक्षा एवम् विपक्षीहरुको उक्साहटमा आएर यादवले पार्टी निर्णय अनुसार मनोनयन फिर्ता लिनुको सट्टा अनुशासन र सहमति उल्लंघन गर्दै पार्टीलाई नै चुनौति दिने अझ गम्भीर गल्ती गर्नुभयो ।’
दाहालले यादवलाई पार्टीका सम्पूर्ण जिम्मेवारीका साथै साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया