रेग्मीसँग युरोपेली संघ प्रमुखको शिष्टाचार भेट

Khilraj-Regmiकाठमाडौँ, ९ कात्तिक । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलका राजदूत रेन्सजे टेरिंकले हिजो शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा अध्यक्ष रेग्मीले संविधानसभा निर्वाचनको अधिकांश कार्य सम्पन्न भइसकेको र विभिन्न निर्वाचन क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्धसहित निर्वाचन सामग्रीको ढुवानी तीव्र रूपमा भइरहेको बताए । उनले निर्वाचनको सम्पन्नतासँगै नेपालमा शान्ति र स्थायित्व कायम हुने भन्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । यसैबीच प्रधानसेनापति गौरवशम्शेर जबरासँग पनि राजदूत टेरिंकले शुक्रबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उता, अखण्ड नेपाल पार्टीले शुक्रबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । उक्त पार्टीको घोषणापत्रमा हिन्दूधर्म सापेक्ष राष्ट्र बनाउनु पर्ने प्रस्ताव रहेको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको घोषणापत्रमा जाति, भाषा र धर्मको आधारमा नभई भूगोलको आधारमा उत्तर र दक्षिण हुने गरी प्रदेशहरू निर्माण गर्नु पर्ने प्रस्ताव गरिएको छ ।
शासकीय स्वरूपमा जनताको प्रत्यक्ष मतबाट चुनिने राष्ट्रपति, राष्ट्रपतिले चुन्ने प्रधानमन्त्री र मन्त्री रहने ब्यवस्था पनि सो पार्टीले प्रस्ताव गरेको छ । उक्त पार्टीको घोषणापत्रमा संसदबाट दुई तिहाई बहुमतले महाअभियोग लगाएर राष्ट्रपति पदमुक्त गर्न सक्ने कुरा उल्लेख छ । गैरनेपाली नागरिकलाई नागरिकता वितरण गरिएको र यसले नेपाली अल्पमतमा पर्ने सम्भावना बढेकोले नागरिकता पनि छानविन गर्ने प्रस्ताव अखण्ड नेपाल पार्टीको छ ।
आर्थिक विकासको लागि पर्यटन, उर्जा र कृषिको वैज्ञानिकरणसहितको तीन खम्बे अर्थनीति र राज्यका महत्वपूर्ण संयन्त्रमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पनि उक्त पार्टीको छ । पत्रकार सम्मेलनमा पार्टीका कार्यबाहक अध्यक्ष चतुराखर अधिकारीले केन्दीकृत नीतिका कारण थुप्रै समस्या आएको दाबी गर्दै पार्टीले स्थानीय तहलाई बलियो बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया