डाक्टर वाग्ले रहेनन्

Chitra-Prashad-Wagle-Drकाठमाडौं, ८ कात्तिक । एपेन्डिक्सको क्यान्सरबाट लामो समय थलिएका डा. चित्रप्रसाद वाग्लेको बिहीबार मध्याह्न काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा निधन भएको छ । ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेका उनलाई श्वासप्रश्वासमा थप समस्या देखिएपछि आइतबारबाट सघन उपचारकक्ष (आइसियु)मा भर्ना गरिएको थियो । दुई महिनाअघि भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालले थप उपचारका लागि क्यानडा वा अमेरिका जान सुझाव दिएको थियो । क्यानडा वा अमेरिकामा उपचार गर्न कम्तीमा एक करोड ३० लाख रुपैयाँ खर्च हुने भएपछि उनले त्यो रकम जुटाउन सकेनन् । १४ महिना भारतमा उपचार गरेपछि डाक्टर वाग्ले नेपाल फर्केका थिए । नेपाल फर्केलगत्तै उनको नियमित उपचार ग्रान्डी अस्पतालमा भइरहेको थियो । नेपाललगायत विश्वभरका शुभचिन्तकले उनको उपचारका लागि सहयोग रकमसमेत जम्मा गर्ने अभियान थालेका थिए । झन्डै २० लाख रुपैया जम्मा भएपनि त्यो रकम डाक्टर वाग्लेलाई बचाउन पर्याप्त हुन सकेन । दिल्लीबाट फर्केपछि नेपाल सरकारसँग आºनो उपचारमा सहयोग गर्न डाक्टर वाग्लेले आग्रह गरेका थिए । चौतर्फी दबाबपछि नेपाल सरकारले उनको उपचारमा सहयोग गर्न भनेर पाँच लाख रुपैयाँ प्रदान गरेको थियो । १२ वर्षसम्म अर्घाखाँचीमा रहेर सेवा गरेका डा. वाग्लेले आफू निको भए पुन: दुर्गम जिल्लामै गएर काम गर्ने इच्छा व्यक्त गरेका थिए । १२ वर्षअघि हुम्ला, जुम्ला र अर्घाखाँचीमध्ये एक जिल्लामा गएर जनताको सेवा गर्छु भनेर डाक्टर वाग्लेले प्रतिबद्धता व्यक्त गरेका थिए । अर्घाखाँचीको जिल्ला अस्पतालमा सुपरिटेन्डेन्डको जिम्मेवारी सम्हाल्न पुगेका डा. वाग्ले स्थानीयमाझ लोकप्रिय थिए । डाक्टर वाग्लेले दुर्गम र विकट क्षेत्रबाट आउने बिरामीलाई उपचारसँगै सम्भव भएसम्म अन्य सहयोग पनि गर्थे ।

रुपन्देही जिल्लाको परुवा गाविसका चित्रप्रसाद परुवाको साधारण सरकारी स्कुलमा अध्ययनपश्चात् डाक्टर वाग्ले काठमाडौं हुँदै उज्वेकिस्तानसम्म पुगेर जनरल फिजिसियनको योग्यता प्राप्त गर्न सफल भए । आºनो योग्यतालाई गाउँले र गरिबमाझ सदुपयोग गर्ने सोचका साथ डाक्टर वाग्ले दुर्गममा खटिए । ०५७ मा मेडिकल अफिसर बनेर अर्घाखाँची जिल्ला अस्पतालमा पुगेका उनले दुई वर्षअघि सर्वाेत्कृष्ट चिकित्सकको सम्मान पनि पाएका थिए । अर्घाखाँची सरकारी अस्पताललाई १५ बाट बढाएर ३२ बेडमा विस्तार गरे । त्यो अस्पतालमा डाक्टर वाग्लेले २४ घन्टे उपचार सेवा, आपत्कालीन रक्त व्यवस्था, प्रसूति तथा शल्यक्रिया सेवा आदिको पनि विस्तार गरेका थिए । विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा एमपिएच पढ्न बैंकक पुगेको डेढ महिनामै चित्रप्रसादलाई एक लाखमा एक जनालाई हुने एपेन्डिक्सको क्यान्सर लागेको थाहा भयो । डाक्टर वाग्लेको निधनको खबर पाउनेबित्तिकै विश्वभरिका शुभचिन्तकले विभिन्न सामाजिक सञ्जालमार्फत गहिरो दु:ख व्यक्त गरेका छन् । वाग्लेका श्रीमती, ६ र ८ वर्षीया दुई छोरी र ११ वर्षीय अपांग छोरा छन् । डाक्टर वाग्लेको अन्त्येष्टि देवघाटमा गरिने जानकारी परिवारस्रोतले दिएको छ ।

प्रतिक्रिया