कांग्रेसले नेतृत्व नलिएसम्म लोकतान्त्रिक संविधान नबन्ने : कोइराला

Sushil-koirala,-chitwan-(2)चितवन, २५ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसले नेतृत्व नलिएसम्म लोकतान्त्रिक संविधान नबन्ने ठोकुवा गरेका छन् ।

रिपोर्टस् क्लब नेपाल चितवन शाखाले दशँ, तिहार र छठको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा तथा डायरी विमोचन कार्यक्रममा उनले उक्त ठोकुवा गरेका हुन् । उनले पहिलो संविधानसभाको निर्वाचनमा कांग्रेसको नेतृत्वदायी उपस्थिति नहुँदा संविधान नबनी संविधानसभा विघठन भएको तर्क गर्दै कांग्रेसलाई बहुमत दिन आह्वानसमेत गरे । कोइरालाले यसपटक नेपाली जनता कांग्रेसको पक्षमा भएकाले बहुमत ल्याउने दाबी गर्दै लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व र विकासका लागि कांग्रेसलाई मतदान गर्नुपर्ने बताए । उनले आफू उठेकै क्षेत्रबाट पूर्वजिल्ला सभापति विकास कोइरालाले बागी उम्मेदवार दिनु प्रजातान्त्रिक अधिकार भएको भए पनि विद्रोही तरिकाबाट उम्मेदवार भएकाले पार्टीको विधानअनुसार पार्टीबाट निष्कासित गरिएको जानकारी दिए । यसैबीच, सभापति कोइरालाले एक वर्षभित्रमा संविधान निर्माणको प्रतिबद्धतासहित कांग्रेस जनतामाझ जाने तयारी गरेको दाबी गरे । उनले भने, ‘संविधानसभा गठन भएपछिको ६ महिनाभित्रमा संविधानको मस्यौदा तयार गरिसक्ने र एक वर्षभित्रमा संविधान जारी गर्ने विषयमा कांग्रेस प्रतिबद्ध छ ।’ उनले एक साताभित्रै पार्टीको घोषणपत्र सार्वजनिक गर्ने दाबी गर्दै बिपीको समाजवादको व्याख्या र विकाससम्बन्धी योजनाहरू घोषणपत्रमा नयाँ हुने जानकारी दिए । उनले पार्टीभित्र बरिष्ठ नेता शेरबहादुर देउवा र आफूबीच कुनै मतभेद नरहेको र उक्त कुरा टिकट वितरणले नै पुष्टि गरेको दाबी गर्दै कांग्रेस एक भएर चुनावमा जाने विश्वास व्यक्त गरे । मंसिर ४ को निर्वाचनमा नेकपा— माओवादीलाई ल्याउन आफूले सक्दो प्रयत्न गरे पनि नआएको जानकारी दिँदै अब शान्तिपूर्ण रूपमा जनतालाई मतदानको अवस्था बनाउन माओवादीसँग आग्रह गरे ।
कार्यक्रममा क्लबका केन्द्रीय अध्यक्ष ऋषि धमलाले लोकतान्त्रिक संविधान निर्माण र दोस्रो संविधानसभालाई सफल बनाउन चुनावलाई सफल बनाउन क्लबले राष्ट्रिय अभियान सञ्चालन गर्ने बताए । उनले चितवन शाखालाई क्षेत्रीय शाखामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै चितवनका सक्रिय पत्रकारका लागि २५ हजार राशीको युवा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणासमेत गरे ।

प्रतिक्रिया