दैलेख जिप्रकामा निरीक्षक र जवानको मृत्यू

Hemraj-Bhatta-Inspectorदैलेख, २४ असोज । दैलेख जिल्ला प्रहरी कार्यालयमा गोली चल्दा दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा प्रहरी निरीक्षक हेमराज भट्ट र प्रहरी जवान कमलप्रसाद शर्मा रहेका छन् ।
प्रहरी जवान शर्माले निरीक्षक भट्टलाई आज (बिहीबार) विहान ५ बजेर २० मिनेटमा गोली हानेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । भट्टलाई गोली प्रहार गरे पछि शर्माले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन् ।
कार्यालय भित्र अचानक गोली चले पछि प्रहरीबीच भागदौड भएको थियो । प्रहरी निरीक्षक भट्टका सुरक्षा गार्ड समेत रहेका शर्माले गोली चलाउँदा सुतिरहेका भट्टको घटना स्थलमै मृत्यू भएको थियो ।
त्यस लगत्तै जवान शर्मा आफ्नै पेटमा १ राउण्ड गोली हानी आत्महत्या गरेको प्रहरीको प्रारम्भीक भनाई छ । प्रहरी निरीक्षक भट्टको टाउकोमा २ राउण्ड गोली लागेको छ ।
प्रहरी जवान शर्माको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा मृत्यू भएको थियो । प्रहरीले घटनाका पूर्ण विवरण दिएको छैन ।

प्रतिक्रिया