एक व्यक्तिको अड्डीले थन्कियो निर्णय

hsebकाठमाडौं, २२ असोज । जिरो प्लस टु कलेजका नामबाट ‘इन्टरनेसनल’ शब्द हटाउने निर्णय उच्चमाध्यमिक शिक्षा परिषद्को बोर्डले स्वीकृत नगरेका कारण रोकिएको छ ।

परिषद्को सचिवालय बैठकले गत माघ महिनामै इन्टरनेसनल शब्द हटाउने निर्णय गरे पनि बोर्डले नगरेका कारण अझै कार्यान्वयनमा जान नसकेको हो । सचिवालयको निर्णय बोर्डले स्वीकृत नगर्दा इन्टरनेसन शब्द हटाउन नसकिएको परिषद् स्रोतले जनाएको छ ।
नामको बीचमा इन्टरनेसनल शब्द जोड्न ‘क’ वर्गमा वर्गीकृत कलेज वा अन्तराष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त भएको तथा भर्ना विद्यार्थीमध्ये कम्तीमा एक प्रतिशत अन्य राष्ट्रको हुनुपर्ने व्यवस्था छ । त्यस्ता शैक्षिक संस्थाहरूले भने कुनै पनि प्रावधान पूरा नगरे पनि नाममा इन्टरनेसनल शब्द राख्ने गरेका छन् । परिषद्ले यसै शैक्षिक सत्रदेखि इन्टरनेसनल शब्द हटाउने तयारी गरेको थियो ।
स्रोतका अनुसार बोर्ड सदस्य अनिल केडियाका कारण परिषद्ले सचिवालयको निर्णय स्वीकृत गर्न नसकेको हो । माघपछि बोर्ड बैठक पटक–पटक बसे पनि केडियाले हटाउन नहुने अडान लिँदै आएका छन् । ‘केडियाले बैठकमा इन्टरनेसनल शब्द हटाउन नहुने अडान राख्दै आएका छन्,’ स्रोतले भन्यो, ‘केडियाकै कारण बोर्डले स्वीकृत गर्न सकेको छैन ।’ बोर्डले स्वीकृत गर्नासाथ कलेजका नाममा झुन्डिएको इन्टरनेसनल शब्द हटाइने स्रोतले जनाएको छ ।
परिषद्ले गतवर्ष नै यसै शैक्षिक सत्रबाट विदेशी नाम परिवर्तनका साथै नामबाट इन्टरनेसनल शब्द हटाउने निर्णय गरेको थियो । कलेजहरूलाई विदेशी र इन्टरनेसनल नाम परिवर्तनका लागि परिषद्ले निवेदन माग गरेको थियो । तर, कुनै कलेजले पनि विदेशी नाम र इन्टरनेसन शब्द परिवर्तन गर्न निवेदन दिएका थिएनन् । परिषद्ले विदेशी नाम परिवर्तन र इन्टरनेसनल शब्द हटाउनका लागि शुल्क मिनाहा गरेको थियो । विदेशी नाम धेरै नभए पनि इन्टरनेसनल शब्द जोडिएका कलेजहरू धेरै छन् ।
परिषद्को सम्बन्धन महाशाखा प्रमुख देवीप्रसाद बाराकोटीले चाडै कलेजका नाममा रहेको इन्टरनेसनल शब्द हटाउने जानकारी गराए । ‘कलेजहरूले इन्टरनेसनल शब्द राख्न पाउँदैनन् । इन्टरनेसनल शब्द राख्न एक प्रतिशत विदेशी विद्यार्थी अनिवार्य अध्ययन गरेको हुनुपर्दछ,’ उनले भने, ‘तर त्यस्तो गरेका छैनन् । जसरी पनि इन्टरनेसनल शब्द हटाउछाँै ।’
विदेशी नामभन्दा पनि इन्टरनेसनल शब्द धेरै रहेको बाराकोटीले जानकारी दिए । उनका अनुसार १९ वटा जिरो प्लस टु कलेजहरूले इन्टरनेसनल शब्द राखेका छन् । विदेशी नामबाट दुईवटा कलेज सञ्चालित छन् । विदेशी राष्ट्र, सहर र क्लबको नाम भएका कलेजलाई नेपालीपन झल्कने नाम राख्नका लागि निवेदन दिन आग्रह गरेको थियो ।

प्रतिक्रिया