सेना कसैका विरुद्ध नभई निर्वाचन सम्पन्न गर्न मात्र हो

Suraksha-Gosthiधनगढी, २२ असोज । गृहमन्त्री माधवप्रसाद घिमिरेले नेपाली सेना कसैको विरुद्धमा नभई आसन्न संविधानसभा सदस्य निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल सरकारले परिचालन गर्न लागेको बताएका छन् ।

संविधानसभा सदस्य निर्वाचनसम्बन्धी गृहमन्त्रालयले सोमबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रीय सुरक्षा गोष्ठीमो गहृमन्त्री घिमिरेले उक्त कुरा बताएका हुन् ।
उनले नेपाली सेना सरकारको प्रचलित नियमकानुनमा व्यवस्था भएअनुसार चुनावमा परिचालन गर्न लागिएको तर केही कू तत्त्वले सेनाको भूमिका बारे अनर्गल प्रचार गरी भ्रम फैलाउन खोजेको आरोप लगाए ।
निर्वाचनलाई निर्धारित समयमा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान ब्युरोको एकीकृत सुरक्षा योजना बनाई निर्वाचनमा परिचालन हुने गृहमन्त्री घिमिरे बताए । एकीकृत सुरक्षा योजना हाल कार्यान्वयनको अन्तिम चरणमा रहेको उनको भनाइ थियो ।
सरकारको पहिलो प्राथमिकता निर्धारित समयमा निर्वाचन सम्पन्न गर्नुरहेको बताउँदै गृहमन्त्री घिमिरेले यसका लागि सरकार सबै निकायलाई परिचालन गरी अत्यन्त गम्भीर भएर लागिरहेको बताए ।
बारामा हालै एमाले उम्मेदवारलाई केही अराजतत्वले सांघातिक आक्रमण गरी तर्साउन खोजे पनि सरकार उम्मेदवार, राजनीतिक दल तथा मतदाताको सुरक्षाप्रति संवेदनशील र सक्षम रहेको बताउँदै कहीँकसैको धाकधम्कीबाट नतर्सी निर्धक्क भएर निर्वाचनमा लाग्न गृहमन्त्री घिमिरेले सबैलाई आग्रहसमेत गरे । उनले सम्पूर्ण उम्मेदवारहरूलाई सुरक्षा घेरामा राखी सुरक्षा दिने सरकारले तयारी गरिरहेको बताए ।
‘यसअघिको संविधानसभाले संविधान जारी गर्न नसकेकोले दोस्रो संविधानसभाको निर्वाचन गर्नुपरेको हो,’ गृहमन्त्री घिमिरेले भने, ‘वर्तमान सरकारको निर्धारित समयमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख दायित्व रहेको छ ।’
सम्पूर्ण राजनीतिक दल, निर्वाचन आयोग, सरकारी निकाय तथा मतदाता निर्वाचनको माहोल बनाउन जमेर लागेका छन् । अब कसैले पनि चाहेर पनि निर्वाचन नरोक्न सक्ने गृहमन्त्रीको भनाइ थियो ।
‘वर्तमान सरकार नागरिक सर्वोच्चतलाई माथि राखेर काम गरिरहेको छ । निर्वाचनपछि बहुदलीय प्रतिस्पर्धा पुनर्जागरण भई देशले संविधान पाएर संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नेछ,’ गृहमन्त्रीले भने ।
निर्वाचननजिकै आइरहेको र त्यही अनुरूप हरेक कामकाज भइरहेकोले सञ्चारकर्मीले सत्यतथ्य समाचार सम्प्रेषण गरी सहयोग गर्न गृहमन्त्रीले आमसञ्चारकर्मीलाई आग्रह गरे । उनले हरेक दिन सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी आएका समाचार हेरेर/सुनेर सरकारले आफ्नो धारणा तथा कार्यक्रम बनाउने गरेको जानकारी दिए ।
पहिलोपटक सुदूरपश्चिमबाट सुरु गरिएको क्षेत्रीय सुरक्षा गोष्ठी अन्य क्षेत्रमा पनि गरिने गृहमन्त्रालयका प्रवक्ता शंकर कोइरालाले बताए । धनगढीमा सुरु भएको एक दिने सुरक्षा गोष्ठीमा सुदूरपश्मिका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको छ ।
गोष्ठीमा निर्वाचनको सुरक्षामा भएका चुनौती तथा अन्य विषयमा छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
क्षेत्रीय गोष्ठीमा सहभागी नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीहरूले आसन्न निर्वाचनमा वैद्य माओवादी र भौगोलिक विकटता बढी चुनौती रहेको गृहमन्त्री समक्ष बताएका थिए ।
कार्यक्रममा सहभागिकाअनुसार प्राय सबै जिल्लाबाट माओवादी कार्यकर्ता नियन्त्रणमा लिन सुरक्षाकर्मीको जनशक्ति पर्याप्त नभएको तथा पहाडी भौगोलिक विकटताका कारण मतदाता, मतदानन केन्द्रको सुरक्षा गर्नु प्रमुख चुनौती रहेको गृहमन्त्री सामु रिर्पोटिङ गरिएको थियो ।
प्रतिउत्तरमा गृहमन्त्रीले जुनसुकै हतकन्डा अप्न्याएर भएपनि शान्तिसुरक्षा कायम गर्न सहभागिहरूलाई निर्देशन दिएको सहभागीको भनाइ छ । सरकारले यसअघि नै देशभरिका ११ जिल्लालाई अति संवेदनशील घोषणा गरिसकेको छ ।
यसमध्ये सुदूरपश्चिमको कैलाली र अछाम जिल्ला पनि रहेका छन् । यी दुई जिल्लामा सरकारले विशेष सतर्कताका साथ काम गरिरहेको तर स्थिति अनुकूल नरहेको सुरक्षा अधिकारीको विश्लेषण छ ।
कैलालीमा खुला सीमा, सुदूरपश्चिमकै बढी राजनीतिक गतिविधि हुने जिल्ला तथा अछाम द्वन्द्वकालमा बढी प्रभावित भएको अझै हातहतियार सन्त्रास रहेकोले बढी संवेदनशीलमा राखिएको हो ।
अछाममा १ नंम्बर क्षेत्र भन्दा कर्णाली अञ्चलसँग सीमा जोडिएको २ नंम्बर क्षेत्र उच्चसंवेदनशील रहेको छ । यो क्षेत्रमा द्वन्द्वकालका हतियार र सुरक्षाकर्मीको सहज पहुँच नहुनुले बढी खतरा रहेको अछामका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताए ।
यसअलावा निर्वाचनमा भाग लिएका दलका युवा दस्ता तथा कार्यकर्ता पनि सुरक्षामा प्रमुख चुनौती रहेको र उनीहरूलाई व्यवस्थित भएर जिल्लामा कार्यक्रम गराउन समस्या आउने गरेको भनेर गोष्ठीमा सहभागीहरूले गृहमन्त्रीलाई अवगत गराएका थिए ।
गृहमन्त्रीले नेपाली सेना पनि चुनावमा परिचालित हुने भएकोले ढुक्क भएर जिल्ला सुरक्षा योजना बनाइ काम गर्न निर्देशन दिएको एक सहभागीले बताए ।
कार्यक्रममा गृहसचिव जनार्दन नेपाल, रक्षासचिव आत्मराम पाण्डेय, प्रहरी महानिरीक्षक कुवेरसिंह राना, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, नेपाली सेनाका रथी नेत्रबहादुर थापा, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया