एमाले होइन लोकतन्त्रलाई जिताऔँ : नेपाल

Uml-Netsकाठमाडौं, २० असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी एमालेलाई नभई लोकतन्त्रलाई जिताउने गरी चुनावी अभियानमा लाग्ने बताएका छन् । प्रेस चौतारी काठमाडौंले शनिबार राजधानीमा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘एमाले संविधानसभाको निर्वाचन सफल पार्ने र संविधान बनाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर चुनावी अभियानमा होमिएको छ,’ नेपालले भने, ‘निर्वाचन भएको ६ महिनाभित्र संविधानको मस्यौदा बनाउने र एक वर्षभित्र संविधान जारी गर्ने योजनासहित चुनावी अभियानमा एमाले होमिएको छ ।’ उनले बहुपहिचानको मुद्दा लिएर चुनावी अभियानमा एमाले जाने पनि स्पष्ट पारे । ‘चुनावी घोषणापत्रमा एमालेको विगतको भूमिका र समाज परिवर्तनको एजेन्डालाई समेत समावेश गर्ने भएको छ,’ उनले भने ।

एमालेले राम्ररी बुझेको जनताको भावना र चाहनालाई दाबी गर्दै पार्टीको पक्षमा माहोल सिर्जना हुने विश्वाससमेत नेपालले प्रकट गरेका थिए । उनले एमालेका बारा–४ का सभासद्का उम्मेदवार महम्मद आलमलाई गोली हान्ने अपराधीलाई तुरुन्त पक्राउ गर्न र कारबाही गर्न सरकारसँग माग राखे । ‘अहिले चुनाव भाड्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘त्यस्ता व्यक्तिलाई कारबाही गर्ने, उम्मेदवारको सुरक्षा दिने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कुरामा पनि सरकार लागोस् भन्ने आग्रह गर्छु ।’ कार्यक्रममा काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रका उम्मेदवारको सहभागिता रहेको थियो । सबै उम्मेदवारले काठमाडौंमा सूर्य ध्वजावहाक झण्डा फहराउन आफूहरू लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया