चुनावी रणनीतिबारे कांग्रेसमा असन्तुष्टि

Nepali Congressकाठमाडौं, २० असोज । कांग्रेसले प्रतिस्पर्धी राजनीतिक दलहरूलाई परास्त गर्ने गरी चुनावी योजना तर्जुमा गर्न नसकेको आवाज उठ्न थालेको छ । संविधानसभा चुनावको मिति नजिकिँदै गर्दा पनि रणनीति तय गर्न नसकेको भन्दै कांग्रेसका केन्द्रीय सदस्यदेखि वरिष्ठ नेताहरूले पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवासँग गुनासो गर्न थालेका छन् ।

कांग्रेसका नेता मात्र होइन, चुनावमा होमिएका उम्मेदवारले पनि चुनावका लागि ठोस नीति ल्याउन नेतृत्वलाई दबाब दिन थालेका छन् । उनीहरूले चुनावी रणनीति तत्काल तय गर्न दबाब दिए पनि मुख्य नेतृत्व भने यसतर्फ केन्द्रित नभएको दाङबाट उम्मेदवार बनेका राजु खनालले बताए । ‘चुनावका लागि के योजना लिएर हामी जनतामा जाने भन्ने अन्योलमा छाँै,’ खनालले भने ।
कांग्रेसका युवा नेता गगन थापाले चुनावलाई रणनीतिकभन्दा पनि कार्यकर्तामुखी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । ‘चुनावलाई रणनीतिक पनि बनाउनु त पर्छ नै,’ थापाले भने, ‘कार्यकर्तालाई आफ्नो एजेन्डाका विषयमा पनि जानकारी गराउने खालको रणनीति बन्नुपर्दछ ।’ कांग्रेस अन्य दलभन्दा कमजोर रूपमा चुनावी अभियानमा नरहेको प्रतिक्रिया उनले दिए । ‘हामी कमजोर छैनाँै,’ उनले भने, ‘छिट्टै आक्रामक रूपमा चुनावी अभियानमा जान्छौँ ।’ कांठमाडौं ४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका थापाले आफूले दिनहँ मतदातासम्म पुगिरहेको बताए । ‘म चुनावी अभियानमा होमिसकेको छु,’ उनले भने ।
एमाओवादी र एमालेले सामाजिक सञ्जाल ट्विटर, फेसबुक, अनलाइन, एफएमलगायतका सञ्चारमाध्यम प्रयोग गरी चुनावी प्रचारलाई तीव्रता दिएका छन् । कांग्रेसले भने ती माध्यमलाई प्रयोग गर्न नसकेको कार्यकर्ताको गुनासो छ ।
कांग्रेसमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालको संयोजकत्वमा प्रचार रणनीति तय गर्न समिति बनेको छ । आफूनिकट पत्रकार र सञ्चारमाध्यमलाई मात्रै चुनाव प्रचारको जानकारी गराउनाले प्रचार अभियान प्रभावकारी बन्न सकेको छैन । ‘रिजालजीले प्रचारका लागि रणनीति नै बनाउनुभएको छैन, कसरी जनतामा जानु ?,’ एक उम्मेदवारले भने ।
कांग्रेसले आफ्नो वेबसाइट अपडेटसमेत गरेको छैन । केन्द्रीय कार्यालयबाट सामान्य आधिकारिक जानकारीबाहेक कांग्रेसले प्रचारका सामग्री उपलब्ध गराउन सकेको छैन ।

प्रतिक्रिया