चाडपर्व लक्षित गर्दै बजार अनुगमन

बागलुङ, १८ असोज । चाडबाडको बेला बजारमा हुने अनियमितता रोक्न अनुगमनलाई तीव्र पारिएको छ । राष्ट्रिय उपभोक्ता मञ्च, प्रहरी प्रशासन, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरेको हो । सदरमुकाम बागलुङ बजार र जिल्लाका अन्य बजारक्षेत्रमा अनुगमनलाई तीव्र पारिएको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । गत सातादेखि सुरु भएको अनुगमन कार्यक्रमअन्तर्गत टोलीले जिल्लाको भीमापोखरा गाविसमा पर्ने अछेते बजार, गलकोटमा पर्ने हटिया बजार, हरिचौर, खर्बाङलगायतका क्षेत्रमा अनुगमन गरेको छ ।

चाडपर्व नजिकिादै जाादा बजारमा अखाद्य वस्तुहरूको बिक्री वितरण बढिरहेको गुनासो बढेपछि अनुगमन गर्नुपरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसैबीच विरगञ्जबाट प्राप्त समाचारअनुसार कालोबजारी तथा विभिन्न अत्यावश्यकीय उपभोग्यवस्तुमा मिसावट नियन्त्रण गर्न वीरगन्ज तथा आसपासका क्षेत्रमा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमनलाई प्रभावकारी बनाएको छ ।
समितिमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, वीरगन्ज उपमहानगरपालिका र वाणिज्य कार्यालय, वीरगन्ज उद्योग वाणिज्य संघ तथा उपभोक्ता समितिलगायतका प्रतिनिधिको सहभागिता छ । समितिले गत एक सातामै वीरगन्जका २७ खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुका उत्पादक तथा बिक्री स्थल, होटल र औषधि पसलको अनुगमन गरेको वाणिज्य कार्यालय वीरगन्जले जनाएको छ ।
सो कार्यालयका अनुसार, बजार अनुगमनका क्रममा उपभोक्ता ठग्ने र स्वास्थ्यमा खेलबाड गर्ने उत्पादकलाई जरिवानासमेत गरिएको छ । जरिवाना तिर्ने उद्योगमा वीरगन्ज–१४ स्थित शिला बेकरी उद्योग र सुपर गोल्डेन पाउरोटी उद्योग रहेका छन् । अनुगमन समितिले ती दुवै उद्योगलाई एक/एक हजार जरिवाना गरी छाडेको छ ।
अनुगमनका क्रममा फेला परेका म्याद नाघेका, लेबल नभएका र न्यून गुणस्तरका वस्तु नष्ट गरिएको तथा केहीलाई सचेत गराइएको वाणिज्य कार्यालय वीरगन्जले जनाएको छ । माछामासु बिक्रीस्थल र होटल रेस्टुरामा पनि अनुगमन गरिएको छ, वाणिज्य कार्यालय वीरगन्जका प्रमुख श्रीधर केसीले भने, ‘चाडपर्वका बेला उद्योगी र बिक्रेताबाट हुनसक्ने उपभोक्ता हितविपरीतका कार्य नियन्त्रणको उद्देश्यले बजार अनुगमन कार्यलाई कडाइ गरिएको छ ।’
गत साउन यता वीरगन्ज र आसपासका क्षेत्रका १ सयभन्दा बढी उद्योग, बिक्रीस्थल, होटल, रेस्टुरा, औषधि पसललगायतमा अनुगमन भइसकेको समेत वाणिज्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया