जसको प्लेन चढ्यो उसकै बागी

Nepali Congressओखलढुंगा, १८ असोज । विवादै विवादबीच नेपाली कांग्रेसबाट टिकट पाएका ओखलढुंगाका बालकृष्ण दाहालले उम्मेदवारी दर्ता गर्दा निकै ठूलो झड्का बेहोरेका छन् । पार्टी कार्यालय सानेपाबाट टिकटको टुंगो लाग्ना साथ जिल्ला जान दाहालले हवाइजहाज चार्टर गरे । तर, उक्त जहाज चढी जिल्ला पुगेका सहयोगी पूर्वजिल्ला सभापति महेशकुमार कोर्मोचाले दाहालकै विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् ।

चुनावमा सहयोग गर्छ भनेर चार्टर गरेको प्लेनमा लिएर गएकाले नै उनीविरुद्ध बागी खडा भए । नेपाली कांग्रेसबाट ओखलढुंगा–१ मा टिकट पाएका दाहालले आफ्नो मनोनयन पत्र दर्ता गराउन जिल्ला जान काठमाडौंबाट प्लेन नै चार्टर गरेका थिए । तर, कोर्मोचाले आफूविरुद्ध नै उम्मेदवारी दिएपछि दाहाललाई पहिलो गाँसमै ढुंगा लागेको छ । कोर्मोचाले काठमाडौंमा रहँदा पनि सकेसम्म आफूले टिकट पाउनुपर्ने भन्दै नेताको ढोका चहारेका थिए । टिकट नपाएपछि जिल्लाका केही नेता तथा कार्यकर्तालाई जम्मा पारेर उनले दाहालविरुद्ध गुटबन्दी गर्दै आएका थिए ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट कांग्रेसले रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । उनीविरुद्ध पनि अशोक कार्की र लक्ष्मी बाँस्कोटाले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया