माओवादीलाई बाहिर राख्ने षड्यन्त्र : बैद्य

काठमाडौं, १६ अजोस । नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरुले आफूहरुलाई चुनावमा सहभागी हुन नदिएको आरोप लगाएको छ ।
अध्यक्ष मोहन बैद्यले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर ठूला दलहरुले आफूहरुलाई बाहिर राख्न सहमति भईसकेका विषय समेत बखेडा गरेको बताए । ‘गोलमेच सम्मेलन गर्ने सहमति भईसकेको बिषयमा बखेडा गरियो,’ उनले भने, ‘नेकपा–माओवादीलाई चुनाव भन्दा बाहिर राख्न ठूला दलले षड्यन्त्र गरेका छन् ।’
उनले विदेशी शक्तिको निर्देशनमा आफूहरु बिरुद्ध षड्यन्त्र भएको बताए । ‘ठूला दलका शीर्ष नेताहरु विदेशी दलाल हुन्,’ बैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष बैद्यले आफूहरुको सहभागिता बिना हुने चुनावको कुनै अर्थ नहुने समेत बताए । वार्ता प्रक्रिया नेकपा–माओवादीले भन्दा पनि ठूला दलहरुका कारण विथोलिएको उनको आरोप छ ।
यसैबीच, नेकपा–माओवादीले चुनाव बिरोधी आफ्ना कार्यक्रमलाई दृढताका साथ अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया