उदयपुरको साउनेमा मंगलबारे हाट

उदयपुर, १६ असोज । उदयपुरको पहाडी गाविसको साउने बजारमा मंगलबारे हाटबजार सुरु भएको छ । सदरमुकाम गाईघाटदेखि १३ किलोमिटर उत्तरी पहाडी गाविसमा रहेको साउने बजारमा मंगलबार हटिया लगाउन स्थानीय युवराज राईको अध्यक्षतामा हालै नौ सदस्यीय बजार व्यवस्थापन समितिसमेत गठन भएको छ ।

साउनेमा बजार सञ्चालन भएपछि पहाडी गाविस खाँबु, पोखरी, आँपटार, भुटार, चिलाउनेलगायत पाँच गाविसका स्थानीय जनतालाई सुविधा हुने भएको छ । खासगरी कृषि बजारका लागि साउने हटिया उपयोगी हुने स्थानीय बिन्द्र मगरले बताए । गाउँघरमा उत्पादन भएको कृषिअन्तर्गतका वस्तुहरू सागसब्जी, अन्न, फलफूललगायतका वस्तुहरू बिक्री गर्न सजिलो हुने पनि उनिहरूको धारणा छ ।
त्यस्तै छिमेकी जिल्ला खोटाङका फाक्टाङ, सुन्तलेलगायतका गाविसका जनतालाई समेत साउने बजारले सुविधा प्रदान गर्नेछ । उदयपुरको सदरमुकाम गाईघाट हुँदै खोटाङ–दिक्तेल सञ्चालन हुने सडकसमेत साउने हुँदै सञ्चालन हुने भएपछि अहिले साउने बजार पहाडी गाविसको एउटा व्यापारिक केन्द्रसमेत हुँदै गएका कारण पनि साउनेमा बजार लगाउन उपयोगी भएको स्थानीयवासीको धारणा छ ।

प्रतिक्रिया