प्राथामिक स्वास्थ्य केन्द्रमा बिरामी चाप

kolti photoबाजुरा, १५ असोज । जिल्लाको उत्तरी भेगमा पर्ने प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीमा बिरामीको संख्यामा वृद्धि भएको छ ।

मौसम परिर्वतन र प्रदूषित वातावरणका कारण विरामीको संख्या वृद्धि भएको प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ । दैनिक ७० देखि ८० जना बिरामीहरूले उपचार गराउँदै आएको उक्त केन्द्रमा एक साता यता बिरामीको संख्यामा दोब्बरले वृद्धि भएको केन्द्रका प्रमुख असोककुमार सिंहले जानकारी दिए ।
हाल कोल्टी प्रथामिक स्वास्थ्य केन्द्रमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तीन शय्याको उपचार कक्ष रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा बिरामीको चापसँगै उपचारमा समस्या भएको छ ।
कोल्टी क्षेत्रका ११ गाविसका जनताहरूलाई सेवा दिँदै आएको उक्त केन्द्रमा उपचारका लागि शय्या र सेवा दिने स्वास्थ्य कर्मीको पनि कमी रहेको बताइएको छ । स्वास्थ केन्द्रमा आँखा पाक्ने, पेट दुख्ने, झाडापखाला, रूघाखोकी जस्ता सरुवा रोगका बिरामी बढी आउने गरेका छन् । उपचारका लागि औषधि प्रर्याप्त भए पनि उपचार कक्ष र स्वास्थ्य कर्मीको भने समस्या भएको प्रमुख सिंहले बताए ।
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामध्ये राम्रो र सुविधा सम्पन्न भवनको रूपमा गणना गरिएको प्रथामिक स्वास्थ्य केन्द्र कोल्टीमा नै उपचारमा समस्या भएको छ । सरकारले करारमा कर्मचारी राखेको कारण समय समयमा यस्तो समस्या आउने गरेको छ ।
सुविधासम्पन्न स्वास्थ्य चौकीको अभावमा सर्वसाधारणहरूले प्रभावकारी स्वास्थ्य सेवा पाउन सकेका छैनन् । जसका कारण उनीहरूले सामान्य उपचारका लागि पनि महँगो भाडा र लगानी गरी धनगढी महेन्दनगर नेपालजंगलगायत भारतका विभिन्न गाविसमा जानु पर्ने बाध्यता छ ।
उत्तरी भेगका अधिकांश गाविसमा विभिन्न सरुवा रोगको संक्रमण देखा परेको छ भने प्रथामिक स्वास्थ्य केन्द्र कोल्टी एक वर्षदेखि डाक्टरविहीन बनेको छ । एक वर्षसम्म कुनै पनि डाक्टर नभए पनि सम्बन्धित निकायाले वास्ता नदिएको स्थानीयको आरोप छ । त्यस्तै, बाजुरा जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा बिरामी बढेको स्वास्थ्य चौकीले जनाएको छ ।

प्रतिक्रिया