आन्तरिक राजस्वले बजार अनुगमन गर्ने

काठमाडौं, १४ असोज । आन्तरिक राजस्व विभागले काठमाडौं उपत्यकालगायत मुलुकभरका विभिन्न मुख्य बजारमा बिल लिने/दिने बानीको विकास गराउने उद्देश्यले सोमबारदेखि सघन बजार अनुगमन सुरु गर्ने भएको छ ।

उपभोक्ताहित संरक्षण मञ्चसहितको सहभागितामा हुन लागेको सो अनुगमनको पूर्वसन्ध्यामा आयोजित अनुशिक्षण कार्यक्रममा विभागका महानिर्देशक टंकमणि शर्माले चाडबाडको समयमा बजारमा कारोबार अत्यधिक हुने भएकाले बजार अनुगमनमा तीव्रता ल्याउन लागिएको जानकारी दिए । उनले बजारमा मूल्यअभिवृद्धि करको बिल बिजक जारी गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउने सन्दर्भमा अभियान सुरु गर्न लागेको जानकारी पनि सो अवसरमा दिए ।
महानिर्देशक शर्माले गत वर्ष पनि बजार अनुगमनको माध्यमबाट १५ हजारभन्दा बढी व्यवसायीको अनुगमन गरिएको र यस वर्ष २० हजारभन्दा बढी व्यवसायीको अनुगमन गरिने दाबी गरे । बिल बिजक जारी गराउने नै यस अभियानको प्रमुख उद्देश्य रहेको भन्दै उनले यस अभियानमा सूचना संकलन गरेपछि पछिल्लो चरणमा बिल बिजक जारी नगर्ने व्यवसायीमाथि अनुसन्धान प्रक्रिया थालनी गरिने धारणा राखे । अनुगमन गर्ने जिम्मा करदाता सेवा कार्यालय र आन्तरिक राजस्व कार्यालयको रहने र विभागले समेत अनुगमन टोलीलाई निर्देशन र सहयोग प्रदान गर्नेमा उनले जोड दिए ।
सो क्रममा महानिर्देशक शर्माले मूल्य अभिवृद्धि करको मुख्य स्रोत नै बिल बिजक भएकाले बिल जारी नहुँदा राजस्व चुहावट हुने र उपभोक्ता सचेत भए भने व्यवसायीबाट बिल बिजक जारी हुन्छ र सरकारलाई पनि राजस्व प्राप्त हुन्छ भन्ने कुराको सचेतनाको अभिवृद्धिका लागि यो अभियान थालिएको धारणा राखे । मञ्चसँगको सहकार्यले मूल्यअभिवृद्धि करको असुलीमा वृद्धि हुने धारणा व्यक्त गर्दै उनले संयमित, धैर्यतापूर्वक र अनुशासित भएर बजार अनुगमनमा सहभागी भइदिन अनुगमनमा जाने कर्मचारी तथा अभियन्तालाई अनुरोधसमेत गरे ।
कार्यक्रममा मञ्चका अध्यक्ष ज्योति बानियाँले आन्तरिक राजस्व विभागसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै बजारमा बिल लिने/दिने कार्य अत्यन्त न्यून रहेको हुँदा बजार अनुगमनको माध्यमबाट यसमा सुधार हुने धारणा व्यक्त गरे । मञ्चबाट ५५ जना अभियन्ता सहभागी हुने बताउँदै उपभोक्ता सचेतनाको कार्य गर्न विभागसँग सहकार्य गर्न सधँै तयार रहेको उनको भनाइ थियो । मूल्यसूची रहेको पसलमा बिल बिजक लिएर मात्र सामान खरिद गर्न, बिल प्राप्त गरेपछि मात्र उपभोक्ताको अधिकार स्थापित हुने धारणा व्यक्त गरे ।
बजार अनुगमन अभियान उद्देश्यबारे उपमहानिर्देशक राममणि दुवाडीले पनि प्रकाश पारे । अनुशिक्षण कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक, निर्देशकलगायत काठमाडौं उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयका प्रमुख कर प्रशासक र १३ वटै करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत तथा उपभोक्ता हित संरक्षण मञ्चका अभियन्ता सहभागी थिए ।
व्यापारिक केन्द्रमा पनि निरीक्षण
धनकुटा : चाडबाड नजिकिँदै गर्दा धनकुटाका विभिन्न व्यापारिक केन्द्रमा प्रशासनले अनुगमनलाई तीव्र बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईको नेतृत्वको अनुगमन टोलीले पाख्रिबास, हिले र धनकुटा बजारका किराना पसल, होटल, मासु पसल, औषधि पसल र उपभोक्ताको स्वस्थ्यमा सरोकार राख्ने विभिन्नखाले पसलमा अनुगमन तीव्र बनाएको हो ।
अनुगमनका क्रममा विभिन्न किराना पसल तथा होटलबाट म्याद नागेका कोक, फेन्टा, फ्रुटीलगायत पेय पदार्थ र खाद्य सामग्री गरी करिब ५० हजार बराबरको सामान जफत गरी नष्ट गरिएको थियो । अनुगमनका क्रममा पाख्रिबासका अधिकांश पसलमा मूल्य सूची नराखिएको, दर्ता नगरी पसल सञ्चालन गरिएको व्यवसायी प्रमाणपत्र नलिएको, साइनबोर्ड नराखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
अनुगमनकै क्रममा पाख्रीबास बजार व्यवस्थापन समितिका सचिव रामबहादुर खड्काले अनुगमन कार्यलाई अझ सशक्त ढङ्गले सञ्चालन गर्नुपर्ने सुझाव दिए । व्यापारीले भने सम्बन्धित निकायले यसप्रति निष्पक्ष ढंगले सचेतनामूलक कार्यक्रम चलाए राम्रो हुने बताउँदै आएका छन् ।
अनुगमन टोलीमा सुरक्षा निकायका प्रमुख, साना तथा घरेलु उद्योग विकास कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ धनकुटाका प्रतिनिधि, उपभोक्ता समितिका सदस्य, सञ्चारकर्मी र बजार व्यवस्थापन समितिका पदाधिकारी सहभागी थिए ।
बजारमा बिक्री भइरहेका सामानको पहिचान नगरी किन्ने गर्दा उपभोक्ताको स्वास्थ्यमा समस्या हुन सक्ने भएकाले पनि अनुगमनलाई नियमित गर्नुपर्ने उपभोक्ता हकहित संरक्षण मञ्चका सदस्य घनेन्द्र न्यौपानेले बताए । म्याद नाघेका सामान प्राय: पहाडी बजारका साप्ताहिक हटियामा लगेर बेच्ने र सर्वसाधारणमा म्याद हेर्ने जनचेतना नभएकाले पनि सर्वसाधारण ठगिने गरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया